लोकतन्त्रको वास्तविक परीक्षा शक्तिशालीको सुविधाबाट नभई कमजोरको न्यायबाट हुन्छः न्यायाधीश मल्ल | ईमाउण्टेन समाचार

Our Network

साउन १५ २०८३, शनिबार

लोकतन्त्रको वास्तविक परीक्षा शक्तिशालीको सुविधाबाट नभई कमजोरको न्यायबाट हुन्छः न्यायाधीश मल्ल

काठमाडौँ ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले लोकतन्त्रको वास्तविक मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुने बताउनुभएको छ । प्रकाश काफ्लेको ३४ औँ स्मृति दिवस तथा ३२ औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । न्यायाधीश मल्लले मुलुकमा उत्कृष्ट संविधान, कानून र सक्षम संस्थाहरू विद्यमान भएपनि तिनको सान्दर्भिकता सबैभन्दा कमजोर नागरिकले राज्यको ढोकामा पाउने न्यायको प्रकृतिमा निर्भर रहने उल्लेख गर्नुभयो । सबैभन्दा कमजोर नागरिक न्याय खोज्दै आउँदा उसले सुनुवाइ पाउँछ कि मौनता, सहयोग पाउँछ कि अपमान ? उहाँको प्रश्न छ ।

त्यसले नै कानून र संस्थाको वास्तविक मूल्य निर्धारण गर्ने बताउनु भयो । समाजमा धर्म र समुदायका नाममा बढ्दै गएको द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै न्यायाधीश मल्लले नागरिकका आवाजहरू आक्रोशमा मात्र सिमित नभई करुणामा बदल्नुपर्नेमा जोड दिनुभयो । बोल्दा सत्य, तथ्य र प्रमाणका आधारमा बोल्न र हिंसा भड्काउने भन्दा पनि सहिष्णुता र शान्तिको यात्रातर्फ लाग्न सुझाव दिनुभयो । कुनै व्यक्तिको पीडा सामाजिक सञ्जालको क्षणिक विषय मात्र बन्न नहुने तर्क गर्दै उहाँले प्रविधि र विकासको गतिले मानिसको पहिचान, आवाज र स्वतन्त्रतालाई ओझेलमा पार्न नहुने बताउनु भयो । विकासका नाममा गरिब र कमजोरको उठिबास लगाउन नहुने तथा सुरक्षाका नाममा नागरिकको स्वतन्त्रता कुण्ठित हुन नहुने उहाँको भनाइ छ । राज्यका निकायहरू संविधानले तोकेको सीमा र पारस्परिक सम्मानका साथ बलियो हुनुपर्नेमा जोड दिँदै उहाँले अन्याय हुँदा मौन बस्ने प्रवृत्ति घातक हुने चेतावनी दिनुभयो । महाभारतको प्रसङ्ग उल्लेख गर्दै उहाँले द्रौपदीले न्यायको प्रश्न गर्दा मौन बसेको सभाजस्तो सभा बन्न नहुनेतर्फ सचेत गराउनु भयो । द्वन्द्वपीडितका माग, पर्यावरण संरक्षण, सीमान्तकृत समुदायको समान अवसर र नागरिकको पहिचानका सवालमा राज्य र समाज मौन बस्न नहुने स्पष्ट पार्दै न्यायाधीश मल्लले न्यायका लागि उपयुक्त समय प्रतीक्षा नभई अहिले नै भएको उद्घोष गर्नुभयो ।

Leave a Reply

ताजा समाचार