काठमाडौं ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले लोकतन्त्रको सुदृढीकरण केवल निर्वाचनबाट मात्र सम्भव नहुने बताउनुभएको छ ।
६८ औं संसद दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लोकतन्त्रको वास्तविक शक्ति राज्यका संस्थाहरूको प्रभावकारिता, पारदर्शिता र उत्तरदायित्वमा निहित हुने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले बदलिँदो परिवेशअनुसार संसदीय गतिविधि नियमावलीलाई अनुसन्धानमा आधारित, जनमुखी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो । संसदीय समितिको सुदृढीकरण, तथ्यमा आधारित बहस, डिजिटल प्रविधिको उच्चतम प्रयोग र जनसहभागितामार्फत संसदलाई थप प्रभावकारी बनाउनु आजको मुख्य आवश्यकता रहेको उहाँको भनाइ छ ।
पूर्वसांसद मञ्च तथा संविधान सभा परिषद् नेपाल जस्ता संस्थाहरूमा रहेका अनुभवी सदस्यहरूको ज्ञान वर्तमान र भविष्यका सांसदहरूका लागि अमूल्य मार्गदर्शक बन्नसक्ने अध्यक्ष दाहालले बताउनु भयो । संसदको गरिमा र मर्यादा जोगाउनु केवल सांसदहरूको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी भएको उहाँले बताउनु भयो । संसदले सधैं दिगो विकास, सामाजिक न्याय, सुशासन र समावेशी विकासलाई केन्द्रमा राख्नुपर्नेमा उहाँको जोड छ ।
संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक न्यायको लक्ष्य प्राप्तिका लागि संसदको भुमिका अपरिहार्य रहेको चर्चा गर्दै अध्यक्ष दाहालले मौलिक हकहरूको कार्यान्वयनका लागि आवश्यक ऐन कानून निर्माणमा सांसदहरू जिम्मेवार बन्नुपर्ने बताउनु भयो । भौतिक पूर्वाधारको विस्तार मात्र नभई मानव विकास, ज्ञान, प्रविधि, सामाजिक सद्भाव र सुशासनको समग्र उन्नति नै वास्तविक विकास भएको उहाँले स्पष्ट पार्नुभयो ।





