सुडानको राजधानी खार्तुममा प्रचण्ड गर्मी र चर्को विद्युत कटौतीका कारण जनजीवन कष्टकर | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

सुडानको राजधानी खार्तुममा प्रचण्ड गर्मी र चर्को विद्युत कटौतीका कारण जनजीवन कष्टकर

लामो समयदेखि युद्धको चपेटामा परेर तङ्ग्रिने प्रयास गरिरहेको सुडानको राजधानी खार्तुममा यतिबेला प्रचण्ड गर्मी र अनियन्त्रित विद्युत कटौतीले जनजीवन थप भयावह बनाएको छ । विद्युत अभावका कारण खाद्य भण्डारण, स्वास्थ्य सेवा र व्यावसायिक गतिविधिहरूमा गम्भीर अवरोध सिर्जना भएको छ । खार्तुमको दक्षिणी भेगका बासिन्दाहरू विद्युतीय उपकरण चल्न छोडेपछि गर्मीबाट बच्न घरबाहिर र खुला ठाउँमा बस्न बाध्य छन् । स्थानीय गृहिणी कौथर अहमदका अनुसार विद्युत कटौतीको समस्या कहिलेकाहीँ एक–दुई दिनदेखि महिनौँसम्म लम्बिने गरेको छ । ‘हामीलाई खाना सुरक्षित राख्न, पंखा चलाउन र मोबाइल चार्ज गर्न बिजुली चाहिन्छ । मेरो घरमा बिरामी भाइ हुनुहुन्छ, जसलाई शीतल हावा र चिसो पेय पदार्थको खाँचो छ, तर विद्युत् नहुँदा निकै समस्या भएको छ ।’ उहाँले भन्नुभयो ।
विद्युत संकटले स्वास्थ्य क्षेत्रमा पनि ठूलो जोखिम निम्त्याएको छ । मधुमेहकी बिरामी रुआ ओमारले विद्युत नहुँदा इन्सुलिन जस्ता संवेदनशील औषधिहरू फ्रिजमा राख्न नपाएको गुनासो गरिन्। औषधि र खाद्य सामग्री बिग्रिएपछि आर्थिक रूपमा संघर्ष गरिरहेका परिवारहरूमा थप भार थपिएको छ ।
व्यावसायिक क्षेत्रमा पनि यसको प्रत्यक्ष असर देखिएको छ । किराना पसल सञ्चालक मोहम्मद अहमद बशीरले दक्षिणी खार्तुममा कहिलेकाहीँ ४८ घण्टासम्म विद्युत काटिने गरेको जानकारी दिए । उहाँले भन्नुभयो, ‘हाम्रो काम पूर्ण रूपमा बिजुलीमा निर्भर छ । विकल्पका रूपमा जेनेरेटर प्रयोग गर्न खोज्दा इन्धनको मूल्य अत्यधिक बढेका कारण खर्च धान्न गाह्रो भएको छ ।’
सुडानको ऊर्जा तथा पेट्रोलियम मन्त्रालयले बढ्दो तापक्रमका कारण मागमा भएको वृद्धि, विस्थापितहरूको पुनरागमन र कृषि तथा औद्योगिक क्षेत्रमा बढेको खपतलाई विद्युत कटौतीको मुख्य कारण बताएको छ । मन्त्रालयले हाल मर्मतसम्भारमार्फत २६० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा थपिएको र जारी पुनस्र्थापना कार्य सम्पन्न भएपछि कुल उत्पादन क्षमता ६०० मेगावाट नाघ्ने अपेक्षा गरिएको जनाएको छ ।

Leave a Reply