सर्वोच्चको फैसलाले राज्यका अंगहरुबीचको शक्ति सन्तुलन खल्बलिन पुग्यो : नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सर्वोच्चको फैसलाले राज्यका अंगहरुबीचको शक्ति सन्तुलन खल्बलिन पुग्यो : नेम्वाङ

काठमाडौं । नेकपा(एमाले) संसदीय दलका उपनेता शुभासचन्द्र नेम्वाङले सर्वोच्च अदालतको फैसलाले राज्यका अंगहरुबीचको शक्ति सन्तुलन खल्बलिन पुगेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उपनेता शुभासचन्द्र नेम्वाङले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिनुले राज्यका अंगहरु बीचको नियन्त्रण र सन्तुलनको सिद्धान्त अन्र्तगत नभएकाले राज्यका अंगहरुबीचको सन्तुलन गुमेको बताएका हुन् ।

ताजा जनादेशमा जानेकुरा, जनताको बिचमा जानेकुरा हो

नेम्वाङले अदालतको फैसलाले संविधानको अक्षर, बहुदलीय शासन प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर तुल्याएको पनि बताए । उनले भने – ‘हामीले भनेका छौँ सर्वोच्च अदालतले संविधानको अक्षर, बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, शक्तिपृथकिकरण एवम् नियन्त्रण र सन्तुलनको सिद्धान्त, सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको संविधानको आधारभुत प्रस्तावना । यो मुलभुत कुराहरुमा आउने दिनहरुले निर्धारित गर्नेछन्, यसमा सम्मानीत सर्वोच्च अदालतको फैसलाले त्यसलाई कमजोर तुल्याएको छ । सार्वभौम सत्ता र राजकीय सत्ता जनतामा निहित हुन्छ । यो लोकतन्त्रको मुख्य विशेषता हो । निर्वाचनमार्फत् जनताका प्रतिनिधिहरु चयन हुन्छन् । त्यसले मुलुकको शासन व्यवस्था सञ्चालन गर्छ । तर ताजा जनादेशमा जाने कुरा हामी त्यसलाई निरंकुश भन्नु हुँदैन । ताजा जनादेशमा जानेकुरा, जनताको बिचमा जानेकुरा हो । नियन्त्रण र सन्तुलनको सिद्धान्त बमोजिम सबै अंगविच समन्वय हुन सक्नुपर्छ । सन्तुलन हुन सक्नुपर्छ । राज्यका यी तिन अंगहरुको बिचमा सर्वोच्च अदालतको यो फैसलाबाट कताकता सन्तुलन अलि खल्बल्लिन पुगेको छ कि भन्ने हाम्रो बुझाई छ ।’

अदालतको परमादेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौँ

नेम्वाङले वर्तमान सरकार जनादेशबाट नभई परमादेश बाट आएको बताए । प्रधानमन्त्री देउवाले यसअघि आफुलाई सरकारमा जाने जनादेश नभएकाले सरकारमा जाँदैनौँ भन्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै नेम्वाङले अहिले प्रधानमन्त्री बन्न कसरी जनादेश आयो भन्ने प्रश्न पनि गरे । उनले भने – ‘सरकार गठनको प्रसंगमा हामीलाई यसपटक जनताले जनादेश दिएका छैनन् । त्यसकारणले म सरकारमा जानेवाला छैन भनेको । अहिले त बधाई दिनुपर्ने पो अवस्था आयो । यो कहिले जनादेश प्राप्त भएछ थाहा छैन । तर म त बधाई दिनका लागि उभिएको छु । खाली मैले उहाँको कोट मात्रै गरेको हो । म भन्दै थिएँ सभामुख महोदय, यसरी संविधानले एउटा त निर्वाचनमार्फत् प्रधानमन्त्री आउँछ, सोचेको छ । निर्वाचित प्रतिनिधिहरु रहेको संसदबाट देशले प्रधानमन्त्री पाउँछ । यो पहिलो पटक हो सभामुख महोदय, संसदबाट होईन, जनताको जनादेशबाट होईन, तर सम्मानीत सर्वोच्च अदालतको परमादेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौँ ।’

नेम्वाङले आगमी दिनमा देशमा कस्तो प्रणाली बसाउने भन्नेमा ध्यान दिन पनि प्रधानमन्त्री देउवालाई आग्रह गरे । उनले आफुहरु जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गर्ने पनि बताए । आफुहरुले प्रत्येक मन्त्रालयको अनुगमन गर्ने र सरकारले के गरिरहेको छ हेर्ने पनि बताए ।

उनले विश्वासको मत दिने सम्बन्धमा नेपाली कांग्रेस लगायतका दलमा चाहीँ ह्वीप लाग्ने तर नेकपा(एमाले)लाई ह्वीप नलाग्ने अवस्था बनाइएको भन्दै कांग्रेसलाई अनुशासन लाग्ने आफुहरुलाई नलाग्ने भनेर प्रश्न गरे । नेम्वाङले सरकारलाई छिट्टै पूर्णता दिनुपर्ने भन्दै विगतका सरकारले गरेका कामहरुलाई निरन्तरता दिन समेत प्रधानमन्त्रीलाई आग्रह गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);