काठमाडौँ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताउनुभएको छ । सोमवार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४ औं समूहको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले प्रहरी संगठनलाई प्रविधिमैत्री, पारदर्शी र पूर्ण व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभएको हो । साइबर अपराध, अन्तरदेशीय अपराध र विपद व्यवस्थापनजस्ता बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्न नेपाल प्रहरीले आफ्नो कार्यशैलीमा व्यापक परिवर्तन गर्नुपर्ने महानिरीक्षक कार्कीले बताउनु भयो । उहाँले आधुनिक प्रविधि र कृत्रिम बौद्धिक (एआई) को प्रयोगलाई व्यावसायिक विवेक र मानवअधिकारसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । प्रहरी कर्मचारीहरू वाह्य प्रभाव, व्यक्तिगत आग्रह वा कुनैपनि प्रकारको अनुचित दबाबबाट मुक्त रही कानून कार्यान्वयनमा खटिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कानून कार्यान्वयनको प्रक्रिया केवल कानूनी हुनुमात्र पर्याप्त नभई व्यवहारमा पनि निष्पक्ष, सम्मानजनक र जवाफदेही हुनुपर्ने उनको भनाइ छ । आईजीपी कार्कीले विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूसँगको व्यवहारमा प्रहरी थप संवेदनशील बन्न निर्देशन दिनुभयो । पीडित केन्द्रित दृष्टिकोण अपनाउँदै नागरिकले प्रहरीको निर्णयमाथि प्रश्न उठाए पनि प्रहरीको निष्पक्षतामा सन्देह नगर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिनुभयो । दिक्षान्त समारोहमा व्यावसायिक तालिम पूरा गरेका प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै उहाँले संगठनलाई नागरिकको सहयोगी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो ।





