पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की | ईमाउण्टेन समाचार

Our Network

साउन ७ २०८३, शुक्रबार

पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की

 काठमाडौं ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताउनुभएको छ । सिंहदरबारमा शुक्रवार आयोजित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रणका सन्दर्भमा प्रहरीले भोग्नुपरेका समस्याबारे जानकारी गराउनुभएको हो । महानिरीक्षक कार्कीकाअनुसार पछिल्लो समय रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको छ । नेपालका विभिन्न स्थानमा समूह बनाएर बस्ने गरेका यस्ता व्यक्तिहरू लागुऔषध कारोबार लगायतका सुरक्षा संवेदनशीलता उत्पन्न गर्ने क्रियाकलापमा संलग्न रहेको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याएको छ ।

बैठकमा उहाँले दक्षिण सीमाबाट मल खरिद गर्ने क्रममा केही नेपालीहरू तस्करीको अभियोगमा भारतीय प्रहरीको हिरासतमा रहेको जानकारी दिनुभयो । यस विषयमा ‘पुलिस टू पुलिस’ समन्वय र कुटनीतिक प्रयास भइरहेको र कानूनी प्रक्रिया पूरा गरी उनीहरू छिट्टै रिहा हुने अवस्थामा रहेको उहाँले बताउनु भयो । कानूनी जटिलताका बारेमा चर्चा गर्दै महानिरीक्षक कार्कीले चोरी जस्ता मुद्दामा वाह्य क्षेत्राधिकारको अभावमा अनुसन्धानमा समस्या परेको स्पष्ट पार्नुभयो । सीमा क्षेत्रमा हुने अवैध हातहतियारको ओसारपसार, लागुऔषध तस्करी, र साइबर स्क्यामिङलाई पनि प्रहरीले प्रमुख चुनौतीका रूपमा लिएको छ । विशेषगरी वैदेशिक रोजगारीको प्रलोभन देखाई हुने ठगी र ओटीपी (इत्ए) मार्फत हुने बैंकिङ फ्रडका कारण सर्वसाधारणले अर्बौं रुपैयाँ गुमाउनुपरेको बताउनु भयो । विद्वान वर्ग समेत यस्ता अनलाइन स्क्यामिङ र बेटिङको पासोमा पर्ने गरेको भन्दै उहाँले सचेतनाका लागि आग्रह गर्नुभयो ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति नभएका व्यक्तिहरू खुल्ला सीमाको फाइदा उठाउँदै भारत भएर तेस्रो मुलुक जाने गरेको र यसले मानव तस्करीको जोखिम बढाएको महानिरीक्षक कार्कीको भनाइ छ । सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन नेपाल प्रहरीले नियमित गस्तीका साथै आधुनिक प्रविधिको प्रयोगलाई तिब्रता दिएको छ । उपकरणको सीमितताका बाबजुद पनि संवेदनशील स्थानहरूमा ड्रोन, स्क्यानर र तालिमप्राप्त कुकुर (केनाइन) परिचालन गरी निगरानी बढाइएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार