कमजोर सुरक्षा र सेटिङले मौलायो तस्करी | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

कमजोर सुरक्षा र सेटिङले मौलायो तस्करी

काठमाडौं,२५ मंसिर । कमजोर सुरक्षा र सेटिङका कारण मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तस्करको अखडाका रूपमा चिनिन थालेको छ। विश्वको सबैभन्दा ठूलो सुनको बजार रहेको भारतमा अहिले विश्वभरका तस्करले नेपालको विमानस्थललाई ट्रान्जिट बनाएर सुन तस्करी गर्दै आएको जानकारहरू बताउँछन्।

पछिल्लो समय नेपालमा खाडी मुलुकबाट नेपाल आउने नेपाली तथा विदेशी यात्रुको साथबाट प्रहरीले ठूलाठूला परिमाणमा सुन समात्न थालेपछि नेपालको विमानस्थल ट्रान्जिटका रूपमा प्रयोग भएको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउनुहुन्छ।

लागुऔषध तस्करहरूले लागुऔषध तस्करी गर्न नेपाललाई ट्रान्जिट बनाउने प्रयास गरे पनि त्यो सफल हुन सकेको थिएन तर सुन तस्करहरूले भने नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेको मल्लले बताउनुभयो।

पछिल्लो समय दुबईबाट काठमाडौं आएको १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेको भोलिपल्ट रसुवा नाका हुँदै काठमाडौं आएको दुई किलो सुनसहित रसुवाका दुई जना पक्राउ परेका थिए। त्यस्तै, शनिबार राति दुबईबाट नेपाल आएका एक इजिप्टसियन र दुई सुडानी नागरिकलाई विमानस्थल सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको थियो।

नेपालमा विशेष गरी चिनियाँ नागरिकले विभिन्न वस्तुमा राखेर सुनको तस्करी गर्ने गरेका कारण नेपाल ठूलो ट्रान्जिटका रूपमा विकास हुँदै गएको उहाँले बताउनुभयो। भारतमा सुनको माग अत्यधिक रहेको तर भारतीय सरकारले सुनको कोटा कम तोकिदिएपछि यसको तस्करी नेपालको बाटो हुँदै हुने गरेको पनि उहाँले बताउनुभयो ।

भारत सरकारले अवैध रूपमा सम्पत्ति आर्जन गर्नेविरुद्ध बेलाबेलामा अप्रेसन गर्न थालेपछि अवैध रूपमा सम्पत्ति आर्जन गर्नेहरूले सुन किनेर राख्न थालेपछि भारतमा अत्यधिक मात्रामा सुन खपत हुन थालेको छ।

नेपालमा भन्सार नाकाहरूमा विज्ञ कर्मचारीभन्दा पनि राजनीतिक सोर्सफोर्स लगाएर जाने कर्मचारी र भन्सारमा जडान गरिएका उपकरणहरूले काम नगर्दा सुन तस्करहरूले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेको ठम्याई पूर्वडीआईजी मल्लको रहेको छ।

कमजोर सुरक्षा संयन्त्र, विषयविज्ञ कर्मचारीको सही ठाउँमा सरुवा नहुनु नै यसको प्रमुख कारण रहेको बताउँदै मल्ल भन्नुहुन्छ, हाल चलनचल्तीमा रहेको भारतीय रुपियाँ २ हजारका नोट बन्दी गर्ने हल्ला भारतभर चलेपछि अवैध रूपमा रहेको रुपियाँलाई बजारमा पठाएर सुनमा लगानी गर्न थालेको पाइएको छ।

नेपालमा पनि अवैध रूपमा कमाएको धन नगदमा नै राखेका कारण बजारमा पैसाको अभाव हुन थालेकाले नेपालमा पनि नोटबन्दी गर्नुपर्ने बहस चलेपछि नेपालमा नै सुन किन्ने मानिसको संख्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको पूर्वडीआईजी मल्ल बताउनुहुन्छ।

नेपालमा पछिल्लो समय सुन तस्करी गर्ने गिरोहको पहिचान र तस्करी गरेर सुन नेपाल आउन थालेपछि सुरक्षा निकाय चनाखो भएका कारण अवैध रूपमा नेपाल भित्रने सुन पक्राउ पर्ने क्रम बढेर गएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कठायत बताउनुहुन्छ।

नेपालका सुरक्षा एजेन्सीहरू कमजोर छैनन् हामीसँग जति उपकरण हुनुपर्ने थियो त्यो पर्याप्त नभएका कारण बेलाबेलामा तस्करहरूले नेपालका सीमा क्षेत्र र विमानस्थललाई प्रयोग गर्ने गरेको भए पनि सुरक्षा निकायले त्यस्ता गतिविधिलाई निस्तेज गर्ने काम गर्दै आएको उहाँले दाबी गर्नुभयो।

खास गरी नेपालमा अरब मुलुकबाट सुन तस्करी भएर नेपाल आउने गरेको छ । यसअघि हङकङबाट तस्करी हुने सुन अहिले अरब मुलुकबाट हुने गरेको र त्यसमा भरियाका रूपमा नेपाली नागरिक प्रयोग हुने भएकाले त्योचाहिँ अहिले सुरक्षा निकायका लागि चुनौती बनेको डीआईजी कठायतले बताउनुभयो। समाचारपत्र

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);