अदुवा निर्यातमा भारतको विकल्प बंगलादेश | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

अदुवा निर्यातमा भारतको विकल्प बंगलादेश

काठमाडौं, १३ माघ । काँचो अदुवा निर्यातमा विगत तीन वर्षदेखि भारतले विभिन्न बाहनामा अवरोध जारी राखेपछि किसानले विकल्पको रूपमा बंगलादेशलाई रोजेका छन्। पछिल्लो समय अदुवा किसान र संकलकले सजिलै काँचो अदुवा बंगलादेश निर्यात गर्न थालेका हुन्।

नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहोराकाअनुसार भारतले विभिन्न बाहनामा काँचो अदुवा (फ्रेस जिन्जर)को निकासीमा अवरोध गरेपछि व्यवसायीले बंगलादेशलाई वैकल्पिक बजारको रूपमा पहिचान गरेका हुन्। महासंघसँग आबद्ध केही व्यवसायी बंगलादेश पुगेर बजारको अवस्था, अदुवाको माग, निर्यातसम्बन्धी प्रक्रियाबारे अध्ययन गरेका थिए।

‘अध्ययनकै क्रममा बंगलादेशका ठूला व्यापारीलाई नेपाल बोलाएर पूर्वी नेपालको अदुवाखेती अवलोकन गराएका थियौं’, बोहोराले भने, ‘नेपालको अदुवाखेती हेरेर बंगलादेशी व्यापारी काँचो अदुवा खरिद गर्न तयार भए। त्यसपछि हामीले सानो परिमाणमा विकल्पका रूपमा बंगलादेश पठाउन सुरु गरेका छौं।’ व्यवसायीले काँकडभिट्टाको फुलवारी रुट प्रयोग गरी बंगलादेश पठाउँदै आएका छन्।

बोहोराकाअनुसार उनी आफैं एक महिनाको अवधिमा नेपाली किसानले उत्पादन गरेका अदुवा खरिद गरी २२ ट्रक (तीन सय ३० टन) काँचो अदुवा बंगलादेश निर्यात गरिसकेका छन्। बोहोराले आफ्नै कम्पनी इलाम जिन्जर एक्सपोर्ट कम्पनीमार्फत अदुवा पठाउने काम सुरु गरेका हुन्। सातामा चारदेखि पाँच ट्रकसम्म नेपाली अदुवा भारतको विकल्पमा बंगलादेश जान थालेको छ।

यस्तै महासंघका अध्यक्ष नरेन्द्र खड्काले पनि आफ्नो स्वामित्वको नरेन्द्र टे«डर्स एन्ड सप्लायर्समार्फत बंगलादेशमा अदुवा निकासी गर्न थालेका छन्। यस्तै झापा धुलावारीका पन्नालाल जैनले पनि बंगलादेश अदुवा निर्यात गर्दै आएका छन्। अहिले यी तीनै जनाले नेपालको अदुवा संकलन गरी बंगलादेश निर्यात गर्ने काम गर्दै आएका छन्।

उनकाअनुसार बंगलादेश अदुवा निर्यात हुँदा डलरमा रकम भित्रिने हुँदा नेपाली उत्पादनकर्ता र व्यवसायीलाई झन फाइदा भएको छ। भारत निकासी गर्दा जहिले पनि उधारोमा मात्र बिक्री गर्नुपर्छ। ‘तर बंगलादेशमा पठाउनुपर्दा एलसी खोलेर पठाउनुपर्छ, जसले गर्दा रकम डलरमा आउँछ, डलरका कारण नेपाली उत्पादक र व्यवसायीलाई ठूलो फाइदा भएको छ’, बोहोराले भने।

बंगलादेशलाई विकल्पको रूपमा अगाडि सार्दा सरकारले व्यवसायीका समस्या समाधान गर्नुपर्ने व्यवसायीको आग्रह छ। बोहोराकाअनुसार भुटान र भारतबाट बंगलादेश सामान निर्यात हुँदा भन्सार मूल्यांकन शुल्क थोरै छ। तर नेपालबाट बंगलादेश निर्यात हुँदा भन्सार मूल्यांकन चर्को हुँदा नेपाली अदुवा महँगो पर्छ। नेपाली बस्तुको भन्सार मूल्यांकन शुल्क बंगलादेशको सरकारले आठ प्रतिशत लिँदै आएको छ।

सरकारीस्तरबाट बंगलादेश सरकारसँग वार्ता गरी भन्सार मूल्यांकन शुल्क कम भए अदुवा निकासीका लागि बंगलादेश भरपर्दो विकल्प हुन सक्ने व्यवसायीको भनाइ छ। बोहोराकाअनुसार भारतले निर्यातमा अड्को थापेपछि वाणिज्य मन्त्रालयका उच्च अधिकारीले अदुवा प्रसोधन गरी विभिन्न मुलुक निर्यात गर्न सुझाव दिएका छन्। प्रसोधनका लागि आवश्यक उपकरण मन्त्रालयले उपलब्ध गराइदिने आश्वासन दिएको व्यवसायीले बताए।

भारतीय भन्सारले गुड्स सर्भिस ट्याक्स (जीएसटी) अन्तर्गत भन्सारको अर्को कोड ‘जिन्जर’ भन्ने समूहभित्र रहेर पाँच प्रतिशत भन्सार शुल्क तिरेर निर्यात गर्न पाउने बाटो खुला गरेको छ। तर जिन्जर समूहभित्र प्रसोधन गरी अदुवा पठाउन नेपाली किसान र संकलनकर्ता सक्षम छैनन्। यो समूहभित्र रहेर पठाउन सबै प्रक्रिया पूरा गर्दा धेरै ठूलो अतिरिक्त खर्च गर्नुपर्छ। अतिरिक्त खर्च गर्न सक्ने हैसियत नेपाली किसानसँग छैन।

निर्यातका लागि पानीटंकी नाकामा पुगेको करिब ६५ ट्रक (नौं सय ७५ टन) अदुवा फिर्ता भइसकेको छ। यसमध्ये करिब एक करोड मूल्यबराबरको अदुवा सडेर नष्ट भइसकेको संघले जनाएको छ। पूर्वी तराईका ईलाम, पाँचथर, तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङलगायत जिल्लाबाट संकलन भएर पानीटंकी नाका पुगेको अदुवाको ट्रक १० दिनसम्म निर्यात हुन नसक्दा फर्काइएको हो।

फर्काइएको अदुवामध्ये २० ट्रक संघले धुलावारीमा सञ्चालन गरेको अदुवा प्रसोधन कारखानामा फिर्ता गरी राखिएको छ।

भारतले यसअघि चीनबाट आयातित अदुवा नेपाली अदुवामा मिसाएर भारत निकासी गरेको आरोप लगाएर निर्यातमा अवरोध गर्दै आएको थियो। यस्तै भारतको वैदेशिक व्यापार महानिर्देशनालयले काँचो अदुवालाई प्रतिबन्धित सूचीमा राखेको र काँचो अदुवा निर्यात गर्न अनिवार्य वाणिज्य मन्त्रालयबाट अनुमतिपत्र र क्वारेन्टाइन अनुमति पत्र लिनुपर्ने अडको थाप्दै आएको छ।

नेपाल–भारतबीच पछिल्लो पटक सन् २०१६ मा भएको व्यापार सन्धीअनुसार सन् २०२३ सम्म काँचो अदुवा प्रतिबन्धित भए पनि नेपालको हकमा लागू नहुने र भन्सार महसुलबिना क्वारेन्टाइन सर्टिफिकेटका आधारमा निर्यात गर्न पाउने व्यवस्था छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।