मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, तीन दिने राष्ट्रिय शोकको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, तीन दिने राष्ट्रिय शोकको घोषणा

एजेन्सी, २४ भदौ । अफ्रिकी मुलुक मोरक्कोमा शुक्रबार राति गएको विनाशकारी भूकम्पमा ठूलो जनधनको क्षति भएको छ । भूकम्पका कारण दुई हजारभन्दा बढीको ज्यान गएको पुष्टी भए पनि क्षतिको विवरण हेर्दा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

हजारौं मानिस घाइते भएका छन् । भूकम्पले मराकेश सहरमा रहेको युनेस्को संरक्षित विश्व सम्पदा स्मारकमा पनि क्षति पुर्याएको छ । यो क्षेत्रमा सन् १९६० यताकै सबैभन्दा विनाशकारी भूकम्प हो । मोरक्कोको आन्तरिक मन्त्रालयका अनुसार भूकम्पबाट मृत्यु हुनेको संख्या २०१२ र घाइतेको संख्या २०५९ रहेको छ । मृत्यु हुनेमा फ्रान्सेली नागरिक पनि रहेका छन् ।

मोरक्को सरकारले भूकम्पबाट भएको क्षतिलाई ध्यानमा राख्दै तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । शुक्रबार राति मोरक्कोको उच्च एटलस पर्वतमा ६.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको समयमा मानिसहरु घरमै सुतिरहेका थिए । त्यसैले मृत्यु हुनेको संख्या बढी हुन सक्ने अनुमान गरिएको छ । भूकम्पको केन्द्रविन्दु नजिकै रहेको माराकेश सहरमा सबैभन्दा बढी क्षति भएको छ । त्यहाँका अधिकांश भवन भत्किएका छन् । भत्किएका भवनहरूमा ठूलो संख्यामा मानिस फसेको आशंका गरिएको छ ।

पहाडी भेगमा रहेका गाउँको अवस्था दयनीय छ । त्यहाँ भएको क्षतिको विवरण भने आउन नसकेको र उद्धार र राहत टोलीलाई त्यहाँ पुग्न कठिन भइरहेको छ । सरकारी स्रोत नपुगेको ठाउँमा मानिसहरु आफैं भत्काएर परिवारका सदस्यलाई बचाउन थालेका छन् । विश्व स्वास्थ्य संगठनले प्रकोपबाट तीन लाख मानिस प्रभावित हुने बताएको छ । भूकम्पपछि हजारौं मानिसले खुल्ला ठाउँमा रात बिताएका छन् । अहिले उनीहरुसँग बस्ने र खाने ठाउँ छैन । देशको गृह मन्त्रालयले जनतालाई संयमता अपनाउन अपिल गरेको छ ।

सरकारले एक विज्ञप्ति जारी गर्दै भूकम्पले अल हौज, ओआरजाजाते, माराकेश, अजिलाल, चिचौवा र ताराउदान्ट प्रान्तमा क्षति पुर्याएको जनाएको छ । यसअघि सन् १९६० मा आएको भूकम्पका कारण देशमा करिब १२ हजार जनाको ज्यान गएको थियो । भूकम्पको धक्का मोरक्कोका छिमेकी मुलुक र स्पेनसम्म महसुस गरिएको थियो । विश्वभरबाट मोरक्कोको लागि सहयोग आउन थालेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मोरक्कोमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा शक्तिशाली भूकम्प गएको थियो । यसको गहिराई १७.५ किमी थियो। भूकम्पको केन्द्रबिन्दु माराकेशबाट ७० किलोमिटर दक्षिणपश्चिममा रहेको अल हौज प्रान्तको इघिल सहर नजिक थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);