काठमार्डौ । आयोजक श्रीलंकाले एसिया कप टि ट्वान्टी क्रिकेटको उपाधि जितेको । संयुक्त अरब इमिरेट्सको दुबईमा भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्य पच्छ्याएको पाकिस्तान २० ओभरमा १ सय ४७ रनमा सिमित रहेपछि श्रीलंकाले उपाधि जितेको हो ।
पाकिस्तानका लागि मोहमद रिजवानले ५५ , इफ्तिखर अहमेदले ३२ तथा हरिस राउफले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ र चामिका करुनारत्नेले २ विकेट लिए ।
यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । श्रीलंकाका भानुका राजपाक्षेले अविजित ७१ , वानिन्दु हसरंगा डी सिल्भाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाए । पाकिस्तानका हरिस राउफले ३ विकेट लिए ।
यससँगै श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ । श्रीलंकाले आठ वर्षपछि उपाधि जितेको हो ।
यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो । पाकिस्तान भने तेस्रो पटक उपाधि जित्न असफल भएको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।