काठमाण्डौ । जर्मन बुन्डेस लिगा लिडर बार्यन म्युनिखले लिग अन्तर्गत भएको खेलमा शानदार जित दर्ता गरेको छ ।
शनिबार राति लिग लिडर बार्यन म्युनिखले ह्यामबर्गलाई ८–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखलाई प्रभावशाली जित दिलाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे ।
यस्तै किङ्गस्ले कोमानले दुई तथा अटुरो भिडाल, डेविड अलाबा र आर्जेन रोबिनले एक एक गोल गरे । भिडालले १७ औं मिनेटमा तथा लेवान्डोस्किले २४ र ४२ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा बार्यनले ३–० को अग्रता लियो ।
दोस्रो हाफमा बार्यनले थप पाँच गोल र्गयो । लेवान्डोस्कीले ५४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसको दुई मिनेटपछि अलाबाले गोल गरेपछि बार्यनको अग्रता ५–० मा पुग्यो । कोमानले ६५ र ६९ औं मिनेटमा गोल गर्दै बार्यनलाई ७–० को अग्रता दिलाए ।
८७ औं मिनेटमा रोबिनले बार्यनका लागि आठौं गोल गर्दै ८–० को जित दिलाए । जितपछि बार्यनको २२ खेलबाट ५३ अंक भएको छ ।