प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण अन्तिम चरणमा

काठमाडाैं । प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले महाभियोग लगायतका केही काम बाँकी रहेपनि अन्य सबै विषय टुंगोमा पुगेको हाे ।

समितिका सभापति गणेश पराजुलीले मस्दौदा निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार समितिलाई दिएको १४ दिने समयसीमा मंगलवार सकिँदैछ । उहाँले अधिकांश विषयमा सहमति जुटिसकेकोले सोमबारको बैठकमा सबै विषय टुंगोमा पुर्याएर मस्यौदालाई अन्तिम रुप दिने बताउनुभयो ।

उहाँका अनुसार महाभियोग लगायत केही संवेदनशील विषय अझै बाँकी छन् । ती विषयमा राजनीतिक दलहरूसँग थप परामर्श गरी दलगत धारणा समेट्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । सोमबार बिहान ११ बजे बस्ने बैठकले बाँकी विषयहरू अन्तिम रूप दिने उहाँले जानकारी दिनुभयो । महाभियोग सम्बन्धी व्यवस्थामा केही फरक धारणा र विचारहरू देखिएकाले बहुआयामिक ढंगले छलफल गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

उहाँले नियमावलीमा संसदीय इतिहासको गरिमा र अभ्यासलाई ध्यानमा राख्दै २०१६ साल यताका अनुभवलाई समेट्ने र बदलिँदो व्यवस्थाअनुसार नयाँ प्रावधान समावेश गर्ने दिशामा काम भइरहेको उल्लेख गर्नुभयो । नियमावलीले आगामी पाँच वर्ष प्रतिनिधिसभा सञ्चालन, कानून निर्माण प्रक्रिया प्रभावकारी बनाउने, सांसदहरूको भुमिका सुदृढ गर्ने तथा कार्यपालिकालाई जवाफदेही बनाउने विषयलाई प्राथमिकता दिनेछ । साथै व्यवस्थापिकाको गरिमा कायम राख्ने मूल उद्देश्यका साथ मस्यौदा तयार पारिएको उहाँको भनाइ छ ।

समितिले लोकतान्त्रिक अभ्यासलाई उच्च प्राथमिकता दिँदै सत्तापक्ष मात्र नभई प्रतिपक्षको आवाजलाई समेत समेट्ने गरी नियमावली तयार पारिएको उहाँले दाबी गर्नुभयो । उहाँले सञ्चारकर्मीलाई संसदीय समितिमा प्रवेशको सुनिश्चिता पनि निमावलीमा नै गरिएको जानकारी दिनुभयो ।

समितिले आईतवार सभामुख तथा पूर्वमहासचिवहरूलाई समेत आमन्त्रण गरी सुझाव लिएको छ । समितिले सभामुख डोल प्रसाद अर्याललाई समितिले गरेको काम कारबाहीको बारेमा जानकारी गराएको थियो । समितिले नियमावली निर्माणका क्रममा सरोकारवालासँग औपचारिक तथा अनौपचारिक छलफल गरेको सभापति पराजुलीले जानकारी दिनुभयो । उहाँले नियमावलीको मस्यौदा प्रचलित कानून, अदातलका फैसला, यसअघि प्रतिनिधिसभाले निर्माण गरेको कानुनभन्दा बाहिर नजानेगरि तयार पारिएको उल्लेख गर्नुभयो ।

Leave a Reply