राष्ट्रिय पुननिर्माण प्राधिकरण परिसंवाद कार्यक्रम सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राष्ट्रिय पुननिर्माण प्राधिकरण परिसंवाद कार्यक्रम सुरु

काठमाडाैं, ८ भदाै । प्राधिकरणले विगत पाँच वर्षदेखि गरेका कामको अनुभवहरु आदानप्रदान गर्न भर्चुअल माध्यमबाट ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ आयोजना गरेको हो । तीन दिन सम्म चल्ने कार्यक्रममा २०७२ सालको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनस्र्थापना कार्यबाट प्राप्त गरेका अनुभव र सिकाइहरु आदान प्रदान हुने छ । कार्यक्रमको शुभारम्भ गदैं प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुनर्निर्माणका अधिकांश कामहरु सम्पन्न गरेको बताउनुभयो ।

सात लाख ९० हजार भन्दा बढी निजी घरहरुको पुनर्निर्माणका लागि अनुदान सम्झौता सम्पन्न भएकोमा हाल सम्म ७६ प्रतिशत अर्थात ६ लाख भन्दा बढी घरहरु पुनर्निर्माणको अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले ८८ प्रतिशत घरहरुको दोस्रोचरणको काम सम्पन्न भएको र ९० प्रतिशत घरधनीले निर्माणका लागि सम्झौता गरिसकेको बताउनुभयो । त्यस्तै ४ हजार ८ सय २९ घरहरुमध्ये अधिकांशलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताउनुभयो ।

७ हजार ५ सय ५३ विद्यालय मध्ये ७५ प्रतिशतको पुननिर्माण सम्पन्न भएसकेको पनि उहाँले बताउनुभयो । त्यस्तै सामुदायिक भवन, सांस्कृतिक सम्पदाहरु, स्वास्थ्य संस्था लगायतका संरचनाहरुको पुनर्निमाण पनि सन्तोसजनक रहेको ज्ञवालीले बताउनुभयो । उहाँले पुनर्निर्माण र पुनस्र्थापनाका क्रममा प्राप्त भएका सफलता, उपलब्धी एवं कमीकमजोरीहरुबारे परिसंवादमा समिक्षा हुने र साझा धारणा निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राधिकरणले भूकम्प पछिको पुनर्निर्माण र पुनस्र्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभवहरु अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । त्यसको तयारीका लागि भर्चुअल माध्यमबाट परिसंवाद कार्यक्रम आयोजना गरेको प्राधिकरणले बताएको छ ।

परिसंवादमा पुनर्निर्माण र पुनस्र्थापनाका ६ वटा विषयगत क्षेत्रहरु निजी अवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्दार तथा राहत एवं सुशासनबारे छलफल हुनेछ । परिसंवादमा ६० वटा शोधपत्रहरु प्रस्तुत हुनेछन् ।

कार्यक्रममा प्राधिकरणका अधिकारीहरु, विभिन्न सरकारी निकायका प्रतिनिधि, पुनर्निर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञहरु, भूकम्प पीडित, निजी क्षेत्रका प्रतिनिधि र कार्यपत्र प्रस्तोताहरु सहभागी भएका छन् । कार्यक्रम भदौ ११ गतेसम्म चल्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);