घटेन आत्महत्या दर, गत आवमा गरे सात हजार ११७ जनाले आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

घटेन आत्महत्या दर, गत आवमा गरे सात हजार ११७ जनाले आत्महत्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत विभिन्न संघसंस्थाले आत्महत्या रोकथामका लागि कार्यक्रम संचालन गरिरहेका भए पनि बर्सेनि आत्महत्या बढ्दै गएको पाइएको छ ।

शुक्रबार विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मानसिक अस्पताल पाटनका वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. वासुदेव कार्कीले एक वर्षमा सात हजार ११७ जनाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गरे ।

उनका अनुसार एक वर्षको फरकमा ५.५८ प्रतिशतभन्दा बढीले आत्महत्या गरेका पाइएको छ । सरकारी तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष २०७७÷०७८ मा सात हजार ११७ जनाले आत्महत्या गरेका छन्, जबकि आव २०७६/०७७ मा छ हजार २४१ जनाले मात्र आत्महत्या गरेका थिए ।

२०७५/०७६ मा पाँच हजार ७५४ जना, २०७४/०७५ मा पाँच हजार ३१७ जना र आव २०७३/०७४ मा पाँच हजार १२४ जनाले आत्महत्या गरेको पाइएको छ ।

सरकारले दिगो लक्ष्य हासिल गर्नका लागि सन् २०३० सम्म आत्महत्याको दर ४.७ मा झार्ने बताइरहँदा नेपालमा दैनिक १६ जना मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक आएको छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६.५ प्रतिशत व्यक्तिमा आत्महत्याको सोच र योजना हुने गरेको पाइएको छ । मृत्युका कारणमध्ये १.४ प्रतिशत आत्महत्या हुने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले आत्महत्याको रोकथाम गर्नका लागि कार्यक्रम संचालन गरे पनि परिणाम निस्कन नसकेको बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागमा महानिर्देशक डा. आरपी बिच्छाले २०० भन्दा बढी शय्या भएका १३ वटा अस्पतालमा १० शय्याका दरले मानसिक रोगीका लागि बनाउन थालिएको बताए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का नेपाल प्रमुख डा. राजेश संभाजिराव पाण्डवले नेपालले आत्महत्याको रोकथाम गर्न नसक्ने हो भने नसके दिगो विकासका लक्ष्य र डब्लूएचओको विश्व मानसिक स्वास्थ्य कार्ययोजना हासिल गर्न नसक्ने बताए ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सरकारले आत्महत्या रोकथाम गर्नका लागि प्रयास गरिरहेको भए पनि परिमाण भने नआएको बताए । विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ ।

१० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ । यस्तै २.३ प्रतिशत वयस्कमा र ०.६ प्रतिशत किशोरकिशोरीमा उदासीनताको समस्या देखिएको र ३.९ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको पाइएको मन्त्रालयले सार्वजनिक गरेको अध्ययनमा देखाइएको छ ।

१.१ प्रतिशत वयस्क र ०.७ प्रतिशत किशोरकिशोरीले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ ।

विश्वमा बर्सेनि एक करोड ६० लाख जनाले आत्महत्या गर्ने गरेका छन् । झण्डै ९५ प्रतिशत व्यक्तिहरू, जसले आत्महत्याको प्रयास वा आत्महत्या गर्छन्, उनीहरुमा मानसिक समस्या रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);