कुन नेताले कहाँबाट उम्मेदवारी दर्ता गरे ? (विवरण सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कुन नेताले कहाँबाट उम्मेदवारी दर्ता गरे ? (विवरण सहित)

काठमाडौं, १६ कात्तिक । दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख दलका शीर्ष नेताहरुले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक सबै नेताले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले भने वारेसनामामार्फत डडेल्धुराबाट उम्मेद्वारी दर्ता गराएका छन् । प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेश पन्त मार्फत उमेदवारी दर्ता गराएका हुन् । देउवासँग प्रतिस्पर्धा गर्न एमाले र माओवादी गठबन्धनबाट खगराज भट्टले उम्मेदवारी दिएका छन् ।

यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । ओलीसँग प्रतिस्पर्धा गर्न नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन–३ बाट उम्मेदवारी दर्ता गराएका छन् । दाहालसँग राप्रपाका विक्रम पाण्डेले प्रतिस्पर्धा गर्ने भएका छन् । पाण्डेलाई नेपाली कांग्रेसले सहयोग गर्ने बताइएको छ ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले इलाम १ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनीसँग प्रतिष्पर्धा गर्न नेपाली कांग्रेसबाट भूपेन्द्र कट्टेलले उम्मेदवारी दिएका छन् ।

यस्तै पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधव नेपालले आफ्नो गृहजिल्ला रौतहट छाडेर काठमाडौं–२ बाट उम्मेदवारी दर्ता गराएका छन् । नेपालसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेसका दीपक कुइँकेल र विवेकशील साझा पार्टीबाट सूर्यराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

पूर्वसभामुख एवं एमाले नेता सुवासचन्द्र नेम्वाङले इलाम–२ बाट उम्मेदवारी दर्ता गरे । नेम्वाङसँग प्रतिस्पर्धाका लागि कांग्रेसका केशव थापा मैदानमा उत्रेका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ–१, बाट उम्मेदवारी दिएका छन् । तर उनीविरुद्ध कांग्रेसकै गोविन्द्रराज जोशीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराए । उनीसँग प्रतिस्पर्धा गर्न वाम गठबन्धनबाट माओवादी केन्द्रका अनिल शर्मा र विवेकशील साझा पार्टीबाट रविन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दिया–१, उपाध्यक्ष भीम रावलले अछाम–१, महासचिव ईश्वर पोखरेलले काठमाडौं–५ बाट उम्मेदवारी दिएका छन् । पोखरेलसँग प्रतिस्पर्धा गर्न कांग्रेसबाट प्रकाशशरण महत र विवेकशील साझाबाट उज्ज्वल थापाले उम्मेदवारी दिएका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले झापा–३ बाट उम्मेदवारी दिएका छन् । उनीविरुद्ध वाम गठबन्धनको समर्थनमा राप्रपा महामन्त्री राजेन्द्र लिङदेनले उम्मेदवारी दिएका छन् ।

कांग्रेस नेता विमलेन्द्र निधिले धनुषा–३ बाट उम्मेदवारी दिएका छन् । निधिसँग प्रतिस्पर्धा गर्न राजपा नेपालका राजेन्द्र महतोले उम्मेदवारी दिए । दुबै नेतालाई भिन्न भिन्न क्षेत्रबाट उठाउने पहल असफल भएपछि निधि र महतोको प्रतिस्पर्धा हुने भएको हो ।

काठमाडौँ क्षेत्र नम्बर ४ बाट कांग्रेस नेता गगन थापाले उम्मेदवारी दिएका छन् । थापासँग प्रतिस्पर्धा गर्न एमालेका राजन भट्राईले उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले दाङ–२ बाट उम्मेदवारी दिए । नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले भक्तपुर–१ बाट उम्मेदवारी दिए । उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले मकवानपुर क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन् । थापाले लोकतान्त्रीक गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले ललितपुर ३ बाट उम्मेदवारी दर्ता गराएकी छन् । उनीसँग प्रतिष्पर्धा गर्न नेपाली कांग्रेसका तर्फबाट मदनबहादुर अमात्यले उम्मेदवारी दिएका छन् ।

यसैगरी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट उम्मेदवारी दर्ता गराएका छन् । यादवसँग प्रतिस्पर्धा गर्न बाम गठबन्धनबाट माओवादी केन्द्रका उमेशकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);