इरानले अमेरिकाले आफ्ना माग पूरा गरे दुई दिनभित्रै रणनीतिक महत्वको होर्मुज जलमार्ग पुनः सञ्चालन गर्न सकिने बताएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाले इरानका ‘वैधानिक’ माग सम्बोधन गरे छोटो समयमै होर्मुज जलमार्गमा सुरक्षा पुनःस्थापना गरी वार्ता प्रक्रिया अघि बढाउन सकिने बताउनुभएको हो । उहाँकाअनुसार अमेरिका र इरानबीच मध्यस्थकर्तामार्फत हुने अप्रत्यक्ष संवादको आधार गत सेप्टेम्बरमा तेहरानले प्रश्ताव गरेको सातदिने योजना हो । इरानले आफ्नो सद्भावना देखाउँदै उक्त योजना कार्यान्वयनको अवधि घटाएर दुई दिनमा झारेको पनि उहाँले बताउनु भयो । बघाईले इरानले आफ्ना माग स्पष्ट, उचित र तार्किक रूपमा प्रश्तुत गरिसकेको उल्लेख गर्दै अबको प्रक्रिया अमेरिकाको निर्णयमा निर्भर रहने बताउनु भयो ।
उहाँले अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी अन्त्य नगरेसम्म र तेहरानका माग सम्बोधन नगरेसम्म कुनै सम्झौता हुन नसक्ने स्पष्ट पार्नुभयो । माग पूरा नभएसम्म होर्मुज जलमार्ग पुनः सञ्चालन तथा त्यहाँ सुरक्षा सुनिश्चित गर्न पनि सम्भव नहुने उहाँको भनाइ छ ।
इरानले गत सेप्टेम्बर २२ मा अमेरिकासमक्ष मध्यस्थकर्तामार्फत सातबुँदे योजना प्रस्तुत गरेको थियो। संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाका क्रममा न्युयोर्कमा प्रश्तुत गरिएको उक्त योजनामा युद्ध अन्त्य गर्ने र होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने सम्बन्धमा इरानका सर्तहरू समेटिएका थिए। त्यसयता दुवै देशबीच उक्त प्रश्तावलाई लिएर सन्देश आदानप्रदान भइरहेको बताइएको छ ।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानको राजधानी तेहरानसहित विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा क्षेत्रीय अमेरिकी सैन्य अखडा र सम्पतीलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो । साथै, इरानले होर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रणसमेत कडा बनाएको थियो । विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने होर्मुज जलमार्गको अवरोधले अन्तर्राष्ट्रिय तेल तथा ग्यास आपूर्तिमा समेत असर पार्ने चिन्ता बढाएको छ ।
This website uses cookies.