राजनीति

यमनको ताइज प्रान्तमा बजारमाथि आक्रमण, १० जनाको मृत्यु, दर्जनौँ घाइते

यमनको दक्षिणपश्चिमी ताइज प्रान्तमा रहेको एक बजारमा भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । यमनको हुथी समूहले सोमवार दिएको जानकारीअनुसार ताइज सहरको दक्षिणमा पर्ने अल–मिस्राख जिल्लास्थित अल–मखाफ क्षेत्रमा रहेको बजारलाई लक्षित गरी आक्रमण गरिएको हो । हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनले उक्त आक्रमणमा यमन सरकार समर्थित तथा साउदी नेतृत्वको गठबन्धनको समर्थन प्राप्त सेनाको संलग्नता रहेको आरोप लगाएको छ । मृतक तथा घाइतेको संख्या प्रारम्भिक रहेको जनाइएको छ । यसैबीच, यमनका अन्य क्षेत्रमा पनि साउदी हवाई आक्रमण तथा सीमापार आक्रमणका घटना भएको हुथी सञ्चारमाध्यमले जनाएको छ । ताइज प्रान्तको दक्षिणी क्षेत्रमा पर्ने अश शमायतायन जिल्लामा साउदी सेनाले दुई हवाई आक्रमण गरेको दाबी गरिएको छ । उक्त आक्रमणबाट भएको क्षतिबारे तत्काल विवरण सार्वजनिक भएको छैन । त्यस्तै, उत्तरी प्रान्त सादामा पर्ने मज्ज जिल्ला तथा हैदान जिल्लाको धुवैब क्षेत्रमा रहेको दूरसञ्चार सञ्जाललाई लक्षित गरी साउदी क्षेप्यास्त्र आक्रमण भएको अल–मसिराहले जनाएको छ । साउदी सीमासँग जोडिएको शादा जिल्लामा साउदी सेनाको गोली लागेर दुई जना घाइते भएको पनि सञ्चारमाध्यमले उल्लेख गरेको छ । यी घटनाबारे साउदी अधिकारी वा यमन सरकारले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्। आक्रमण र हताहतीसम्बन्धी विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । यसैबीच, हुथी समूहले पछिल्लो ४८ घण्टामा साउदी अरबका विमानस्थल तथा सैन्य संरचनालाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेको छ । हुथी सैन्य प्रवक्ता याह्या सरीयाले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार साउदी अरबको पूर्वी प्रान्त दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा छुट्टाछुट्टै ड्रोन आक्रमण गरिएको थियो । ती आक्रमणका कारण विमानस्थलको उडान सेवा प्रभावित भएको उहाँले दाबी गर्नुभएको छ । त्यस्तै, यमनसँग सीमा जोडिएको साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र जाजानमा रहेको पूर्वचेतावनी राडार प्रणालीलाई ड्रोनमार्फत प्रहार गरिएको र अर्को आक्रमण जाजान विमानस्थलमा रहेको सैन्य यातायात विमानलाई लक्षित गरिएको प्रवक्ता सरीयाले बताउनुभएको छ । ती आक्रमणबाट भएको सम्भावित क्षति वा मानवीय हताहतीबारे भने उहाँले विस्तृत जानकारी दिनुभएको छैन । हुथी समूहका यी दाबीबारे पनि साउदी अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । यमनमा पछिल्लो समय हुथी समूह र साउदी अरबबीच तनाव थप बढेको छ । साउदी अरबले यमनका हुथी नियन्त्रणमा रहेका क्षेत्रहरूमा आक्रमण गरिरहेको छ भने हुथी समूहले साउदी अरबतर्फ क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गर्दै आएको छ । यमनमा सन् २०१४ को अन्त्यदेखि द्वन्द्व जारी छ। त्यसबेला हुथी समूहले राजधानी साना र उत्तरी यमनका ठूलो भूभाग नियन्त्रणमा लिएपछि सन् २०१५ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको समर्थनमा साउदी नेतृत्वको गठबन्धनले सैन्य हस्तक्षेप गरेको थियो ।

Related Post
Share

This website uses cookies.