राजनीति

बुल्गेरियाको राष्ट्रपतीय निर्वाचनमा इलियाना योतोभाको जित, एक्जिट पोलको अनुमान

बुल्गेरियाकी वर्तमान राष्ट्रपति इलियाना योतोभा राष्ट्रपतीय निर्वाचनको दोस्रो चरण (रनअफ) मा विजयी हुनुभएको छ । आईतवार सम्पन्न मतदानपछि सार्वजनिक भएका एक्जिट पोलले योतोभाको जितको अनुमान गरेका हुन् । बुल्गेरियन नेसनल टेलिभिजनमा सार्वजनिक गरिएको अल्फा रिसर्चको एक्जिट पोलअनुसार योतोभाले ५२.५ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको  छ । उहाँका प्रतिष्पर्धी तथा पूर्व कार्यवाहक प्रधानमन्त्री आन्द्रे गु्रोभले ४३.४ प्रतिशत मत प्राप्त गर्ने अनुमान छ । त्यस्तै, ४.१ प्रतिशत मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने विकल्प रोजेका छन् । त्यसैगरी, मायरा सोसियोलोजी एजेन्सीको सर्वेक्षणले योतोभाले ५१.१ प्रतिशत र गु्रोभले ४४.६ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरेको छ । उक्त सर्वेक्षणमा ४.३ प्रतिशत मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने विकल्प रोजेका छन् । निर्वाचनको आधिकारिक नतिजा बुधबारसम्म सार्वजनिक गरिसक्नुपर्नेछ। बुल्गेरियाको संविधानअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था छ । बुल्गेरियामा राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानबाट हुने गर्छ । राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ । यस निर्वाचनमा करिब ६६ लाख मतदाता मतदानका लागि योग्य थिए । ६२ वर्षीया योतोभाले सन् २०१६ र २०२१ मा दुईपटक उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँले तत्कालीन राष्ट्रपति रुमेन रादेभसँग उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको थियो । रादेभले यसै वर्ष जनवरीमा राजीनामा दिएपछि संवैधानिक व्यवस्थाअनुसार योतोभा राष्ट्रपतिको जिम्मेवारीमा पुग्नुभएको हो । योतोभाले उपराष्ट्रपतिको उम्मेदवारका रूपमा किरिल भाल्चेभलाई अघि सार्नुभएको छ भने गु्रोभले जर्जी कान्देभलाई आफ्नो उपराष्ट्रपतिको उम्मेदवार बनाउनुभएको छ । अमेरिकन युनिभर्सिटी इन बुल्गेरियामा वित्त विषयका सहायक प्राध्यापकसमेत रहनुभएका गु्रोभले राष्ट्रपतिको प्रतिस्पर्धामा भाग लिनुभएको हो । योतोभा सन् २००० देखि २०१६ सम्म बुल्गेरियन सोसलिस्ट पार्टीको राष्ट्रिय परिषद्मा रहनुभएको थियो । उहाँले बुल्गेरियाको राष्ट्रिय संसद र युरोपेली संसद्मा समेत प्रतिनिधित्व गरिसक्नुभएको छ ।

Related Post
Share

This website uses cookies.