प्रतिनिधिसभातर्फ ५२२ र प्रदेशसभातर्फ ८८३ जनाको उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रतिनिधिसभातर्फ ५२२ र प्रदेशसभातर्फ ८८३ जनाको उम्मेदवारी दर्ता

nirbachan aayog

काठमाडौं, १६ कात्तिक । मंसिर २१ गते हुने दोस्रो चरणका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि भएको उम्मेदवारहरूको मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक सहभागितामा सम्पन्न भएको छ।

यसबाट प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनप्रतिको सबै किसिमका आशंका हटेर देश पूर्णरुपमा निर्वाचनको उत्सवमा होमिएको निर्वाचन आयोगले जनाएको छ । यसबाट सार्वभौम संघीय संसद् र प्रदेशसभा निर्माण हुने प्रक्रिया सुनिश्चित भएको आयोगको ठहर छ ।

दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।

उम्मेदवारी दर्ता गर्न आज ५ बजेभित्र सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले तोकेको क्षेत्रभित्र प्रवेश गरेका उम्मेदवारहरुले मनोनयन दर्ता गर्न पाउने व्यवस्था छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट प्राप्त साँझ ६ बजेसम्मको विवरण अनुसार, प्रतिनिधिसभातर्फ ५२२ र प्रदेशसभा सभातर्फ ८८३ गरी जम्मा एक हजार चार सय पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार, सम्बन्धित निर्वाचन कार्यालयबाट आज नै उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशित गर्ने कार्यक्रम रहेको छ । कात्तिक १७ गते उम्मेदवारको विरोधमा उजूरी दिन सकिने र कात्तिक १८ गते मनोनयनपत्र र उजूरीमाथि जाँचबूझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । उम्मेदवारहरूले निर्वाचन चिह्न प्राप्त गरेपछि औपचारिकरूपमा चुनावी प्रचारप्रसारको अवधि शुरू हुने छ ।

उम्मेदवारी मनोनयन दर्ताका लागि आज सुरुमा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका थिए भने अपरान्हपछि राजनीतिक दलहरुका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नेमा महिलाहरुको संख्या कमै देखिए पनि उम्मेदवारी दर्ताका लागि महिला मतदाताहरुको उपस्थिति भने उत्साहजनक रहेको आयोगले जनाएको छ ।

उम्मेदवारको मनोनयनपत्र दर्ता भएसँगै सबै उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने आयोगको भनाइ छ । २०७४ भदौ १४ गतेबाट लागू भएको निर्वाचन आचारसंहिता अब सबै राजनीतिक दल तथा उम्मेदवारले पूर्णरुपमा पालना गर्नुपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);