पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता शुरु | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

काठमाण्डौँ, ५ कार्त्तिक । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । पहिलो चरणमा हुने ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्ण रूपमा शुरु भएको हो ।

विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले मनोनयनको फाराम लैजानाका साथै उम्मेदवारी दर्ता गर्ने क्रम शुरु भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आज उम्मेदवारी दर्ता हुँदैछ । मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेसम्म चल्ने छ ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी छन् ।

आगामी मंसिर २१ गते निर्वाचन हुने बाँकी ४५ जिल्लामा भने यही कात्तिक १६ गते मनोनयन दर्ताको कार्यक्रम छ ।