चितवनमा धानबालीमा ब्लास्ट रोगको असर : उत्पादन धेरै घट्ने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

चितवनमा धानबालीमा ब्लास्ट रोगको असर : उत्पादन धेरै घट्ने संकेत

दिलिप शर्मा,

चितवन । चितवनमा धान खेती गर्ने किसान हरु यति बेला चिन्तित छन् । दुख गरेर लगाइएको धान बालीमा विभिन्न किसिमका रोगहरु देखिदा उनीहरु चिन्तित बनेका हुन् ।

धान खेतीको लागि चितवन पनि एक अग्रणी जिल्ला हो । चितवनको पूर्वी भागमा बिशेषत धान खेतीको लागि परिचित छ । धान खेतीको लागि उपर्युक्त माटो र प्रशस्तै पानीको उपलब्धता हुने हुनाले पूर्वी चितवन क्षेत्रमा यति बेला सबै ठाउँहरुमा धान खेती लगाइएको छ । तर यो खेतीमा प्रत्येक वर्ष रोग किराको प्रकोप बढ्दो रुपमा देखिँदा किसानहरु अप्ठेरो अवस्थामा पुगेका छन् ।

एक बिघा धान खेती गर्न रोपाइँमा मात्रै करिब २५-३० हजार खर्च हुन्छ । अझ उत्पादन भित्र्याउने अवस्था सम्म आइपुग्दा यो खर्च बढेर ४५÷५० हजार सम्म पुग्ने गर्दछ । तर धान बालीमा विभिन्न किसिमका रोगहरु देखिँदा उत्पादन घट्न पुगेको छ । जसका कारण किसानहरु मारमा पर्ने गरेका छन् । रोगकै कारण उत्पादन प्रतिफल लिन नसक्दा घाटा खाएर खेती गर्नु परेको किसानहरु बताउँछन् । वर्षाको समयमा खेतहरुमा अन्य बाली हुँदैन । त्यसैले केही आम्दानी हुने आसामा प्रत्येक वर्ष धान खेती गरिएपनि रोग नियन्त्रण गर्न नसक्दा नोक्सानी बेहोर्न बाध्य भएको खैरहनी ९ का किसान शिब घिमिरे बताउँछन् । आफ्नो वरपरका धेरै कृषकहरुको धान बाली पोहर जस्तै बिग्रिएको राप्ती ४, का किसान शशि प्रकाश पाठकले गुनासो गरे ।

३३ हजार हेक्टर खेतीयोग्य जमिन रहेको चितवनमा २२ हजार हेक्टर क्षेत्रफलमा वर्षे धानको खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्यांक छ । जहाँ ८२ हजार मेट्रिक टन धान उत्पादन हुन्छ । प्रतिहेक्टर ४ टन भन्दा बढी उत्पादन हुनु पर्ने धान, रोग लागेकै कारणले ३५ टनमा खुम्चिएको छ । जुन २०७५/७६ को उत्पादन भन्दा ५ क्विन्टल कम हो ।

विगत २ वर्ष यता धान खेतीको क्षेत्रफल बढेपनि रोग कै कारण उत्पादकत्व घटेको परियोजना स्वयम्को तथ्यांक मा उल्लेख छ । त्यसो त धान खेती विस्तार र उत्पादकत्व वृद्धिको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत चितवनमा धान जोन संचालनमा रहेको छ ।

किसानहरुलाई धान खेतीतर्फ आकर्षित गर्न प्राविधिक सहायता उपलब्ध गराउनुको साथै आधुनिक खेतीको माध्यमबाट उत्पादन लागत घटाउने परियोजनाको लक्ष्य हो । त्यसका लागि विभिन्न तालिम , स्थलगत निरीक्षण तथा सुझाव, तथा लागत घटाउन विभिन्न किसिमका मेसिनरी अनुदानमा उपलब्ध गराइएको परियोजना कार्यान्वयन इकाई, चितवन का प्रमुख बिनोद कुमार भट्टराईले जानकारी दिए । तर रोग किराकै कारणले वर्षेनी उत्पादन घट्दा यस जिल्लाका सरकारी कृषि प्राविधिकहरु माथि प्रश्न चिन्ह खडा भएको छ ।

पछिल्ला वर्षहरुमा चितवनमा ब्लास्ट रोगको कारणले उत्पादन घटेको कृषि ज्ञान केन्द्र, चितवनको भनाई छ । विशेषगरी नेक ब्लास्ट, शिथ ब्लास्ट, गबारो, फड्केको कारणले धानको उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र, चितवनका प्रमुख युवराज पाण्डेको दाबी छ । कृषकहरुले गुणस्तरीय बीउ छनौट नगरी आफू खुसी गुणस्तरहीन बीउ बिजन प्रयोग गर्दा र केही एग्रोभेटहरुले स्थलगत निरीक्षण विना नै बिषादी बिक्री गर्दा यो समस्या देखिएको प्रमुख पाण्डेको दाबी छ ।

पछिल्लो वर्ष पाक्ने बेला भएको धान बालीमा रोग नियन्त्रण गर्न नसक्दा चितवनका केही किसानहरुले धान बालीमा आगो लगाउने, जोत्ने सम्मका कामहरु गर्न बाध्य भएका थिए । प्रत्येक वर्ष एउटै खेतमा एकै जातको धान लगाउँदा पनि समस्या बढेको कृषि प्राविधिकहरु बताउँछन् ।

चितवनमा यो समयमा अधिकांस किसानहरुले सावित्री धान लगाएका छन् । वर्षाैंदेखि एउटै खेतमा सावित्री धान मात्रै लगाउँदा रोग बल्झिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई , चितवनका सूचना अधिकृत माधव पौडेल बताए । अब सावित्री धानको विकल्पमा अन्य जातका धानबाली लगाउनु पर्ने उनको सुझाव छ ।

धान बालीमा शिथ ब्लास्ट देखिएमा भेलिडामाइसिन ३ ग्राम प्रति लिटर पानीमा, गबारो लागेमा दानेदार कार्टाप हाइड्रोक्लोराइड, जÞरा कुहिने रोग लागेमा कार्बेण्डाजिम या कपरअक्सिक्लोराइडको साथमा एण्टिबायोटिक प्रयोग गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);