राजनीति

भुइँ तहमा काम गर्ने कार्यकर्ताको मूल्यांकन नभएसम्म काँंग्रेसमा रूपान्तरण हुन सक्दैनः डिला संग्रौला पन्त

काठमाडौं ।

नेपाली काँग्रेसकी नेतृ डिला संग्रौला पन्तले कांग्रेसको रुपान्तरणको लागि संगठनमा लामो समयदेखि काम गरेका कार्यकर्ताको मूल्यांकन हुनुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भुइँ तहमा काम गर्ने कार्यकर्ताको योगदानको मूल्यांकन नभएसम्म पार्टी रूपान्तरण सम्भव नहुने बताउनुभएको हो । उहाँले भुँई तहको कार्यकर्ताको योगदानको मूल्यांकन, शिक्षा सुधार, युवा नेतृत्वको विकास, संगठन सुदृढीकरण, पार्टी रूपान्तरण, सुशासन र महिला सशक्तीकरणलाई प्रमुख एजेण्डा बनाएर महामन्त्री पदमा उम्मेद्वारी दिएको बताउनुभयो । युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेको उल्लेख गर्दै उहाँले शिक्षा र रोजगारीबीचको सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थी र युवालाई काँग्रेसको राजनीतिमा जोड्दै नेतृत्व तहमा पु¥याउने विषय आफ्नो पहिलो एजेन्डा रहेको बताउनु भयो । युवाले खोजेको सुशासन, भ्रष्टाचारमा शुन्य सहनशीलता, चुस्त सेवा प्रवाह र रोजगारीको अवसर दिलाउनुपर्ने उहाँको भनाई छ । पछिल्लो राजनीतिक परिवर्तनसँगै काँग्रेसले पनि आफूलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।उहाँले अनुभवी, मध्यम पुस्ता र युवा पुस्तालाई जोडेर काँग्रेसलाई अघि बढाउनुपर्ने बताउनु भयो । काँग्रेसप्रति असन्तुष्ट मतदातालाई पुनः पार्टीसँग जोड्ने नीति आवश्यक रहेको बताउँदै उहाँले जनताको घरदैलोमा पुगेर संगठन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । महिलातर्फ महामन्त्री पदका लागि आफूलाई समर्थन गर्न उहाँले काँग्रेसका पालिका, क्षेत्र तथा प्रदेश तहका सभापति, महाधिवेशन प्रतिनिधि तथा देश–विदेशमा रहेका काँग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Related Post
Share

This website uses cookies.