काठमाडौँ ।
प्रेस्टिज एभेन्ट्स मारवाडी समाजले मारवाडी महोत्सव आयोजना गर्ने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाजले यसबारे जानकारी गराएको हो । मंसिर १२ गते काठमाडौंको भृकुटीमण्डपमा महोत्सव सञ्चालन हुने समाजका अध्यक्ष मदन मित्तलले जानकारी दिनुभयो । उहाँकाअनुसार महोत्सवको उद्देश्य मारवाडी कला, संस्कृति, भेषभुषा, परम्पराको प्रदर्शन गर्नु र आम जनसमुदायलाई मारवाडी पहिचान चिनाउनु रहेको छ । मारवाडी समुदायको नेपालको अर्थतन्त्रमा ठूलो योगदान रहेको भन्दै उहाँले हजारौँ रोजगारीको अवसर समेत सिर्जना गरेको बताउनु भयो । महोत्सवमा राजस्थानी लोक नृत्य सुफी अन्य सांगीतिक प्रश्तुति, लोकबाजा, कठपुतली नाच, मारवाडी समुदायको खाना, परम्पराबारे जानकारी गराइने बताउनु भयो । अध्यक्ष मित्तलले महोत्सवमा राजस्थानबाट कलाकारहरु आउने बताउनु भयो ।




