नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८३, सोमबार

नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा

काठमाडौँ ।

मोदीले गरे पुनर्निर्माण, ऊर्जा, पूर्वाधार र व्यापार सहकार्य विस्तारका घोषणा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता प्याकेज घोषणा गर्नुभएको छ ।सोमवार भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र साहसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले उक्त सहायता प्याकेज घोषणा गर्नुभएको हो । गत अगस्टमा नेपालमा आएको भोटेकोशीको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले प्रभावित परिवारको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन र भविष्यमा आउन सक्ने विपद्सँग जुध्ने नेपालको क्षमता अभिवृद्धि गर्न भारतले सहयोग गर्ने बताउनु भयो । सम्बोधनका क्रममा उहाँले प्रधानमन्त्री साहले संयुक्त राष्ट्रसंघमा गर्नुभएको भाषणमा साहको दूरदर्शिताको झलक देखेको बताउनु भयो । पछिल्लो केही घण्टाको कुराकानीमा आफूले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धमा स्पष्ट भिजन र प्रतिवद्धता महशुस गरेको बताउनु भयो । नेपालको विकास यात्रामा भारत सधैँ सहभागी रहेको बताउनु भयो । नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा लैजान आफूले आज प्रयास गरेको बताउनु भयो । नेपाल–भारत सम्बन्ध छिमेकी मात्र नभइ अटुट विश्वासको भएको बताउनु भयो । उहाँले नेपालको नयाँ पुस्ताको आकांक्षा र अपेक्षालाई प्रधानमन्त्री साहले पाएको ऐतिहासिक जनादेशले प्रतिबिम्बित गरेको उल्लेख गर्नुभयो ।

मोदीले नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले जनकपुर र अयोध्याबीच ‘सरयू कमला एक्सप्रेस’ रेल सेवा शुरु गरिएको जानकारी दिनुभयो । यसले अयोध्या आउने भारतीय श्रद्धालुलाई जनकपुर पुगेर माता सीताको दर्शन गर्न सहज बनाउने उहाँको भनाइ छ । लुम्बिनी, बोधगयालगायत दुवै देशका बौद्ध तथा शिवशक्ति सम्पदासँग जोडिएका धार्मिक स्थलबीच सम्पर्क विस्तार गर्न पनि सहकार्य गरिने उहाँले बताउनु भयो । उहाँले नेपाल बिना भारतका धाम र नेपाल बिना भगवान श्रीराम पनि अधुरो रहेको बताउनु भयो । त्यसैगरी उत्तराखण्ड र नेपालबीच धार्चुला सडक पुल उद्घाटन गरिएको तथा बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास गरिएको उहाँले जानकारी दिनुभयो । नेपालको दोधारा चाँदनीमा पनि एकीकृत जाँच चौकी निर्माणको कामलाई तिब्रता दिइने उहाँको भनाइ छ । बिहार, उत्तर प्रदेशसहित भारतका अन्य राज्य र नेपालबीच सडक, रेल तथा सीमा सम्पर्क विस्तारका परियोजनालाई गति दिने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपालको पारवहन व्यापारलाई सहज बनाउन भारतका काण्डला र पारादीप बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने घोषणा गर्दै मोदीले व्यापारिक सम्पर्क र लगानी विस्तारले नेपालको आर्थिक विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । ऊर्जा सहकार्यलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गर्दै उहाँले तल्लो अरुण जलविद्युत आयोजनाको शिलान्यास र अरुण–३ आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिवद्धता नेपालको जलविद्युत सम्भावनालाई आर्थिक समृद्धिमा रूपान्तरण गर्ने प्रयास भएको बताउनु भयो । नेपालको स्वच्छ ऊर्जा उत्पादनलाई भारतको ठूलो ऊर्जा बजारसँग जोडेर आर्थिक विकासको आधार बनाउने उहाँको भनाइ छ । त्यस्तै, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरिएको र झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्तिसम्बन्धी चुनौतीका बाबजुद भारतले नेपाललाई इन्धन, मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता दिएको पनि उहाँले उल्लेख गर्नुभयो ।
नेपालको युवा पुस्ताको क्षमता र सिर्जनशीलतालाई प्रोत्साहन गर्न भारतले नेपालमा स्टार्टअप इन्क्युबेटर, नवप्रवर्तन केन्द्र र भारतीय प्रविधि संस्थान (आईआईटी) को अफशोर क्याम्पस स्थापना गर्ने योजना अघि सारेको मोदीले बताउनु भयो । नेपाली विद्यार्थीका लागि भारतमा कानून र प्रविधि विषयमा छात्रवृत्तिका अवसर बढाउने तथा खाद्य प्रशोधन र मूल्य अभिवृद्धिलाई प्रोत्साहन गर्न नेपालमा कृषि औद्योगिक पार्क विकासमा सहयोग गर्ने उहाँको भनाइ छ । दुई देशका युवा सिर्जनाकर्मीलाई साझा सांस्कृतिक सम्पदालाई आधुनिक प्रविधिमार्फत विश्वसामु पु¥याउन सहकार्य गराइने उल्लेख गर्दै उहाँले आगामी वेब समिटमा नेपालको ठूलो प्रतिनिधिमण्डललाई स्वागत गरिने बताउनु भयो । खेलकुद, विशेषगरी क्रिकेटको पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणमा समेत भारतले सहयोग बढाउने उहाँले घोषणा गर्नुभयो । संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारत र नेपालले साझा भविष्यलाई नयाँ दिशा दिन संयुक्त दृष्टिकोण दस्तावेज जारी गर्न लागेको पनि जानकारी दिनुभयो । उक्त दस्तावेज विकसित भारत र समुन्नत नेपालको लक्ष्य हासिल गर्न दुवै देशले मिलेर अघि बढ्ने मार्गचित्र भएको उहाँको भनाइ छ ।

 

Leave a Reply