बेचबिखनमा परेका पीडितको गोपनीयता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँ जरिवाना गर्न प्रश्ताव | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८३, सोमबार

बेचबिखनमा परेका पीडितको गोपनीयता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँ जरिवाना गर्न प्रश्ताव

काठमाडौँ ।

सांसदहरुले मानव बेचविखनमा परेका पीडितहरुको गोपनीयता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्नुपर्ने प्रश्ताव राखेका छन् । महिला तथा सामाजिक मामिला समितिमा सोमबार भएको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले यस्तो प्रश्ताव गरेका हुन् । उनीहरुले पीडितको पहिचान सुरक्षित राख्नुपर्नेमा जोड दिँदै गोपनीयता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना र १ वर्ष कैद सजायको व्यवस्था गर्नुपर्ने प्रश्ताव राखेका छन् । बैठकमा नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती वि.क.ले अपराध नियन्त्रणका लागि कडा कानून आवश्यक रहेको बताउनु भयो । उहाँले पीडितको गोपनीयता उल्लंघन गर्नेलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र तीन महिनादेखि एक वर्षसम्म कैद सजाय कायम गर्नुपर्ने प्रश्ताव राख्नुभयो । हाल प्रश्तावित जरिवाना पर्याप्त नभएको उहाँको भनाई छ । हाल विधेयकमा पीडितको गोपनीयता उल्लंघन गर्नेलाई १० देखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । सांसद वि.क.ले अपराध गर्नुअघि नै सजायको डर हुनेगरी कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो । अपराध गरेका व्यक्तिलाई सुधार्ने उद्देश्यसहित कानून बनाउनुपर्ने भएपनि सजायको व्यवस्था कमजोर बनाउन नहुने उहाँको भनाई छ । साथै, निर्दोष व्यक्तिमाथि अन्याय हुन नदिन निष्पक्ष छानबिनको व्यवस्था पनि आवश्यक रहेको उहाँले बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले पनि अरूको फोटो, भिडियो वा व्यक्तिगत गोपनीयता भंग हुने सामग्री सार्वजनिक गर्नेलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्मको जरिवाना एकदमै न्युन भएको बताउनु भयो । जरिवानाको रकम बढाउन आवश्यक रहेको उहाँको भनाई छ । उहाँले सञ्चारमाध्याममा पीडितको घटना सार्वजनिक गर्दा लिखित सहमति अनिवार्य हुनुपर्ने व्यवस्था गर्न पनि माग गर्नुभयो । पीडितले न्यायका लागि विभिन्न निकायमा पुग्दा पनि सुनुवाई नभएपछि बाध्य भएर सञ्चारमाध्यम र सामाजिक सञ्जालको सहारा लिनुपर्ने अवस्था रहेको उहाँको भनाई छ । तर घटना सार्वजनिक भएपछि कतिपय पीडितले सामग्री हटाउन आग्रह गर्दा सञ्चारमाध्यम र पीडित दुवै पक्ष समस्यामा पर्ने गरेको उहाँले बताउनु भयो । लिखित सहमति भएमा सामग्री सार्वजनिक गर्ने पक्षसँग त्यसको प्रमाण रहने र पछि उत्पन्न हुने विवादमा दुबै पक्षले आफ्नो धारणा स्पष्ट पार्न सक्ने उहाँको भनाई छ ।

रास्वपाकै सांसद ज्ञानु पौडेलले पीडितको गोपनीयता र पहिचान संरक्षणसम्बन्धी व्यवस्था यौनिक एवं लैङ्गिक अल्पसंख्यक समुदायमा पनि विस्तार गर्नुपर्ने बताउनु भयो । मानव बेचबिखनमा महिला, बालवालिकासँगै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि पर्न सक्ने भएकाले उनीहरूको गोपनीयता पनि सुनिश्चित गर्नुपर्ने उहाँको भनाई छ । उहाँले पनि पीडितले सञ्चारमाध्यममा आफ्ना कुरा प्रशारण गर्नुअघि लिखित सहमति दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो । न्यायका लागि लामो समयसम्म विभिन्न निकाय धाउँदा पनि सुनुवाई नभएपछि पीडितहरू सञ्चारमाध्यममा आउन बाध्य हुने अवस्था रहेकोले पीडितले सञ्चारमाध्यामलाई लिखित सहमति दिनुपर्ने उहाँको भनाई छ ।

उहाँले पनि व्यक्तिगत फोटो, भिडियो वा अन्य सामग्री सहमतिबिना सार्वजनिक गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न प्रश्ताव गर्नुभयो । सामाजिक सञ्जालमा सामग्री भाइरल बनाउने र त्यसबाट आर्थिक लाभ लिने प्रवृत्तिले व्यक्तिको गोपनीयता तथा पहिचानको अधिकार उल्लंघन हुने गरेको उहाँको भनाई छ । यस्तो कार्य नियन्त्रणका लागि साइबर अपराधसम्बन्धी कानूनी व्यवस्थासँग समेत समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।समितिको छलफलमा सांसदहरूले मानव बेचविखनलाई वाह्य देशमा मात्रै नभई आन्तरिक रुपमा पनि भईरहेकोले कानून निर्माण गर्दा यसतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन् । महिला तथा बालबालिकाहरु देशभित्र नै आन्तरिक रुपमा बेचविखनमा पर्ने गरेको उनीहरुको भनाई छ । विशेष गरि ग्रामिण क्षेत्रका आर्थिक रुपमा कमजोर समुदायका बालबालिकाहरु शहरी क्षेत्रमा बेचविखनमा पर्ने गरेको सांसदहरुले बताएका छन् ।

Leave a Reply