काठमाडौँ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आर्थिक सुधारका लागि पुराना तथा असान्दर्भिक कानून खारेज गर्न सरकार अघि बढेको बताउनुभएको छ । सोमवार अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा विधेयकको औचित्य र प्रश्तावित व्यवस्थाबारे जानकारी दिँदै उहाँले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदन ‘आर्थिक सुधारको मार्गचित्र, २०८१’ ले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत अनावश्यक रूपमा बढाउने, कार्यान्वयनमा गलत प्रयोग हुनसक्ने र नियन्त्रणमुखी प्रकृतिका कानुन खारेज गर्न सिफारिस गरेको बताउँदै सोही अनुसार सरकारले कानून संशोधन अघि बढाएको बताउनु भयो ।
सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा समेत असान्दर्भिक तथा पुराना कानुन खारेज गर्ने र आवश्यक विषयमा संशोधन गर्ने नीति उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार अर्थ मन्त्रालयसँग सम्बन्धित विभिन्न ऐन तथा नियमावली खारेज गर्न प्रश्ताव गरिएको छ । खारेज गर्न पहिचान गरिएका कानुनमा प्रादेशिक विकास आयोजना कार्यान्वयन गर्ने ऐन, २०७३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, हवाई टिकट दस्तुर ऐन, २०१९, राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२, वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ तथा राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण नियमावली, २०७० रहेका छन् ।
त्यस्तै, प्रश्तावित विधेयकमार्फत मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०८२ संशोधन गर्न प्रश्ताव गरिएको उहाँले बताउनु भयो । राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन खारेज भएपछि त्यसबाट पर्ने प्रभाव व्यवस्थापन गर्न मूल्य अभिवृद्धि कर ऐनमा संशोधन प्रश्ताव गरिएको उहाँले बताउनु भयो । प्रश्तावअनुसार व्यावसायिक मालसामान ढुवानीको विवरण अनलाइन प्रणालीमा प्रविष्ट तथा अद्यावधिक गर्नुपर्नेछ । ढुवानीका साधनमा जीपीएस जडान गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । तर आवश्यकताअनुसार विभागले यसमा छुट दिन सक्ने प्रावधान राखिएको उहाँको भनाइ छ । प्रश्तावित व्यवस्थाको उल्लंघन गरेमा पहिलो पटक ५० हजार रुपैयाँसम्म र त्यसपछिका प्रत्येक पटक एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
आयकर ऐन, २०५८ मा संशोधन गरी गैरकर राजश्व नतिरेको वा नबुझाएको विषयमा नेपाल सरकारको निर्देशनको अधिनमा रही महानिर्देशकले छानबिन तथा अनुसन्धान गर्न सक्ने व्यवस्था प्रश्ताव गरिएको उहाँले बताउनु भयो । त्यसरी अनुसन्धान गर्दा थप गैरकर दायित्व निर्धारण भएमा सो रकमको शतप्रतिशत जरिवाना असुल गर्न सकिने र गैरकर निर्धारणसम्बन्धी निर्णयविरुद्ध प्रशासकीय पुनरावलोकन गर्न सकिने व्यवस्था पनि विधेयकमा समेटिएको उहाँले जानकारी दिनुभयो ।भन्सार प्रशासनको अधिकारसमेत विस्तार गर्न भन्सार ऐन, २०८२ संशोधन गर्न प्रश्ताव गरिएको उहाँले बताउनु भयो । प्रश्तावित व्यवस्थाअनुसार जाँचपास भइसकेका वस्तुको पुनः जाँच, अनुसन्धान तथा कारबाही गर्न सकिनेछ । त्यसैगरी भन्सार जाँच परीक्षण कार्यालयलाई भन्सार क्षेत्रभित्र तथा बाहिर हुन सक्ने चोरी निकासी वा पैठारी नियन्त्रणका लागि चेकजाँच, अनुसन्धान र कारबाही गर्ने अधिकार प्रदान गर्ने प्रश्ताव गरिएको उहाँको भनाइ छ । राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन खारेज भएपछि राजश्व अनुसन्धान विभागमा अनुसन्धान भइरहेका वा अनुसन्धान पूरा भई मुद्दा दायर हुन बाँकी रहेका उजुरी सम्बन्धित निकायमा हस्तान्तरण गर्ने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको मन्त्री गौतमले बताउनु भयो ।
प्रश्तावअनुसार आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर तथा गैरकरसम्बन्धी उजुरी आन्तरिक राजश्व विभागमा, चोरी निकासी तथा पैठारीसम्बन्धी उजुरी भन्सार विभागमा र विदेशी विनिमयसम्बन्धी कसुरका उजुरी विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ११ क बमोजिम तोकिएको अनुसन्धान अधिकारीसमक्ष हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो ।राजस्व अनुसन्धान विभागमा रहेका अभिलेखसमेत अर्थ मन्त्रालयको निर्णयअनुसार सम्बन्धित निकायमा हस्तान्तरण गर्ने व्यवस्था प्रश्ताव गरिएको उहाँको भनाइ छ । यी प्रश्तावहरू आर्थिक गतिविधि सहज बनाउने, अनावश्यक कानूनी जटिलता हटाउने र नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन विद्यमान अवरोध हटाउने उद्देश्यले अघि सारिएको उहाँले बताउनु भयो ।




