स्पेनको बार्सिलोनामा नयाँ जैतुन तेलको प्रदर्शनी, गुणस्तर र स्वादमा उत्पादकको जोड | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८३, मंगलबार

स्पेनको बार्सिलोनामा नयाँ जैतुन तेलको प्रदर्शनी, गुणस्तर र स्वादमा उत्पादकको जोड

स्पेनको बार्सिलोनामा नयाँ उत्पादन भएको जैतुन तेलको गुणस्तर र विशेषता प्रदर्शन गर्न दोस्रो संस्करणको ‘न्यू ओलिभ आयल मार्केट’ मेला आयोजना गरिएको छ । शुक्रवारदेखि शुरु भएको तीनदिने मेलामा स्पेनका दर्जनौँ जैतुन तेल उत्पादक सहभागी भएका छन् । यस वर्षको मेलामा ५० भन्दा बढी स्टल राखिएका छन् । ती सबै स्टल कातालोनिया क्षेत्रमा मुख्यालय रहेका उत्पादकहरूका लागि छुट्याइएको आयोजकले जनाएको छ । मेलामा जैतुन तेलका विभिन्न उत्पादन प्रदर्शनका साथै यसका विशेषता, प्रयोग र गुणस्तरबारे छलफल तथा खाना पकाउने प्रदर्शनीसमेत आयोजना गरिएको छ । स्पेनको उत्तरपूर्वी क्षेत्रमा पर्ने लेस गारिगेसका उत्पादकहरूले आफ्नो जैतुन तेलको गुणस्तर उच्च हुनुमा त्यहाँको माटो र वातावरणको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उत्पादक सान्द्रा मासकाअनुसार यस क्षेत्रका हजारौँ वर्ष पुराना जैतुनका रूख र खनिजयुक्त माटोका कारण तेलमा पोलिफेनोलको मात्रा उच्च हुने गरेको छ । यसले तेललाई विशेष स्वाद दिनुका साथै लामो समयसम्म ताजा र गुणस्तरीय राख्न सहयोग गर्ने उहाँको भनाइ छ । त्यस्तै, अर्की उत्पादक मर्से नोगुएरासले आफ्नो क्षेत्रको जैतुन तेलको हरियोपनलाई उच्च पोलिफेनोलको सङ्केतका रूपमा व्याख्या गर्नुभयो । उहाँकाअनुसार तेलमा पोलिफेनोलको मात्रा जति बढी हुन्छ, त्यसको स्वास्थ्यसम्बन्धी गुण पनि त्यति नै राम्रो हुने गर्दछ । स्पेन विश्वकै सबैभन्दा ठूलो जैतुन तेल उत्पादक तथा निर्यातकर्ता मुलुक हो । नयाँ उत्पादनको गुणस्तर र बजार प्रवद्र्धनमा केन्द्रित यस मेलाले स्थानीय उत्पादकलाई आफ्ना उत्पादनको पहिचान विस्तार गर्ने अवसर प्रदान गरेको छ ।

Leave a Reply