भिसिटिएस प्रणालीलाई व्यवसायमैत्री र व्यावहारिक बनाउन सांसद खड्काको माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८३, सोमबार

भिसिटिएस प्रणालीलाई व्यवसायमैत्री र व्यावहारिक बनाउन सांसद खड्काको माग

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील खड्काले भेहिकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस) लाई थप व्यावहारिक, पारदर्शी र व्यवसायमैत्री बनाउनुपर्ने बताउनुभएको छ ।सोमवार अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभाको अर्थ समितिमा भएको छलफलमा भिसिटिएसको अवधारणा राम्रो भएपनि यसको कार्यान्वयनमा देखिएका व्यावहारिक समस्याका कारण व्यवसायीले अनावश्यक दुःख र झन्झट बेहोर्नुपरेको बताउनुभएको हो । उहाँकाअनुसार एउटा जिल्लामा मुख्य कार्यालय रहेको कम्पनीले अर्को जिल्लाबाट सामान खरिद तथा ढुवानी गर्दा बाटोमा ट्राफिक प्रहरी तथा कर कर्मचारीबाट अनावश्यक चेकजाँच र जरिवानाको सामना गर्नुपर्ने अवस्था छ । नेपालभर व्यवसाय सञ्चालन गर्ने कम्पनीले ७७ वटै जिल्लामा शाखा कार्यालय खोल्न सम्भव नहुने भन्दै एउटा स्थानमा दर्ता भएको कम्पनीले देशका अन्य स्थानबाट पनि सहज रूपमा सामान खरिद तथा ढुवानी गर्न पाउने व्यवस्था हुनुपर्छ ।भिसिटिएस कार्यान्वयनका क्रममा बाटोमा चेकजाँच गर्ने प्रहरी तथा कर कर्मचारीलाई दिइएको अधिकारको दुरुपयोग हुन नदिन आवश्यक रहेको बताउँदै उहाँले यसअघि पनि तत्कालीन आन्तरिक राजस्व विभाग तथा राजश्व अनुसन्धान विभागका अधिकारीहरूसँग नियमावली संशोधन गरेर प्रणालीलाई व्यावहारिक बनाउने विषयमा छलफल भए पनि अपेक्षित सुधार हुन नसकेको बताउनु भयो ।

खड्काले भिसिटिएस उल्लंघनमा लाग्ने जरिवानासमेत कारोबारको प्रकृति र सामानको वास्तविक मूल्यअनुसार न्यायोचित बनाउनुपर्ने बताउनु भयो । विशेषगरी वेस्ट म्यानेजमेण्ट तथा रिसाइक्लिङ क्षेत्रमा १०–१५ हजार रुपैयाँसम्म मूल्य नपर्ने सामानमा समेत एक लाख रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था अव्यावहारिक रहेको उहाँको भनाइ छ । त्यस्तै, उहाँले रिसाइक्लिङ क्षेत्रमा हुने अन्डर बिलिङलाई अर्को गम्भीर समस्याका रूपमा औँल्याउनुभयो। प्रतिकिलो ५० रुपैयाँ मूल्य पर्ने फलामलाई दुई–तीन रुपैयाँ प्रतिकिलोका दरले पत्रुका रूपमा कारोबार देखाएर वास्तविक मूल्य लुकाउने र त्यसबाट भ्याट कारोबारसमेत छली हुने गरेको उहाँले बताउनु भयो । केही समयअघि अर्थ समितिको उपसमितिले आन्तरिक राजस्व विभागमा गरेको अनुगमनका क्रममा समेत यो समस्या देखिएको बताउँदै उहाँले अन्डर बिलिङ नियन्त्रणका लागि प्रभावकारी व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

भन्सारमा वस्तुको मूल्य निर्धारणका लागि सन्दर्भ मूल्य तोक्ने व्यवस्था भएजस्तै नेपालभित्र हुने वस्तु तथा सेवाको कारोबार र आन्तरिक ढुवानीमा समेत सन्दर्भ मूल्य निर्धारण गर्नुपर्ने उहाँको सुझाव छ । यसले न्युन मूल्यमा बिलिङ गर्ने र कर छली गर्ने प्रवृत्ति नियन्त्रण गर्न सहयोग पुग्ने उहाँले बताउनु भयो । खड्काले नक्कली भ्याट कम्पनीमार्फत हुने राजश्व चुहावटप्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाली नागरिकको नाम र नागरिकता प्रयोग गरी कम्पनी दर्ता तथा भ्याटमा आवद्ध गराउने, तर वास्तविक लाभग्राही सीमापारि रहने प्रवृत्ति रहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार यस्ता कम्पनीले तीन–चार महिनामै एक–दुई करोडदेखि तीन–चार करोड रुपैयाँसम्मको भ्याट कारोबार देखाउने र कर विवरण दाखिला गर्ने समयमा वास्तविक सञ्चालक फरार हुने गरेका छन् । यसबाट राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको उहाँको भनाइ छ । कम्पनी दर्ता, भ्याट दर्ता, वास्तविक लाभग्राहीको पहिचान तथा कारोबार प्रमाणीकरणमा कडाइ गर्नुपर्नेमा उहाँको जोड छ ।

Leave a Reply