काठमाडौँ ।
खानी तथा खनिज पदार्थको अव्यवस्थित उत्खनन नियन्त्रण गर्न उत्खनित खनिजको परिमाण मापन गर्ने प्रविधि जडान गर्न तथा खानी तथा भूगर्भ विभागको संरचना प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथिको छलफलमा सहभागी विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । खनिज स्रोतको प्रभावकारी व्यवस्थापन, अनुगमन र उपयोगका लागि विद्यमान कानूनी तथा संस्थागत व्यवस्थामा सुधार आवश्यक रहेको उनीहरुको भनाइ छ । भूगर्भविद् रामप्रसाद घिमिरेले खानीबाट उत्खनन हुने खनिजको वास्तविक परिमाण यकिन गर्ने व्यवस्था विधेयकमा समेट्न सुझाव दिनुभयो । उहाँले खनिजको प्रकृतिअनुसार तौल वा आयतन मापन गर्ने उपकरण खानीका प्रवेशद्वारमै जडान गरी दैनिक अनुगमन गर्नुपर्ने बताउनु भयो । उहाँले खनिजको प्रकृतिअनुसार बहुमूल्य धातु किलोमा तथा अन्य खनिज टन वा घनमिटरमा मापन हुने भएकाले सोहीअनुसार उपकरण जडान गरी त्यसको विवरण खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताउनु भयो । यसले निर्माणजन्य अनिजको अवैध उत्खनन नियन्त्रण गर्ने उहाँको विश्वास छ । खनिज उत्खननसम्बन्धी कसुरमा हुने सजायमा समेत कडाइ गर्नुपर्ने बताउनु भयो ।
वरिष्ठ भूगर्भशास्त्री तथा त्रिभूवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रिय विभागका प्रमुख डा. कविराज पौड्यालले खानी तथा भूगर्भ विभागको जिम्मेवारी र पहुँच प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले स्थानीय तहमा दक्ष जनशक्तिको अभाव देखाउँदै सबै जिम्मेवारी पुनः केन्द्रिय विभागमै केन्द्रित गर्दा प्रभावकारी अनुगमन र व्यवस्थापन हुन नसकेको उहाँको भनाइ छ । देशभर रहेका ढुंगा, गिट्टी, बालुवालगायत खनिज स्रोतको व्यवस्थापन सिमित जनशक्ति भएको केन्द्रीय विभागबाट मात्रै सम्भव नहुने भन्दै उहाँले प्रदेश र स्थानीय तहमा विभागका शाखा तथा उपशाखा स्थापना गर्नेगरी ऐन निर्माण गर्न सुझाव दिनुभयो । पौड्यालले खानी तथा भूगर्भसम्बन्धी पुराना तथ्यांक डिजिटल माध्यमबाट सार्वजनिक गर्न पनि सुझाव दिनुभयो । विगतमा राज्यले अर्बौं रुपैयाँ खर्च गरेर संकलन गरेका भूगर्भसम्बन्धी तथ्यांकलाई स्क्यान गरी वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ । नेपालको विद्यालय तहको पाठ्यक्रममा समेत खनिज तथा भूगर्भसम्बन्धी विषय समावेश गर्नुपर्ने समेत उहाँको सुझाव छ । उहाँले नेपालका पहाडमा रहेको क्वार्टजाइटजस्ता खनिजको सम्भावना औँल्याउँदै यसको प्रशोधन र उपयोगबाट सिसा तथा सेमिकन्डक्टर उद्योगसम्म विकास गर्न सकिने सम्भावना रहेको बताउनु भयो । तर पर्याप्त अन्वेषण र तथ्यांक अद्यावधिक नहुँदा उपलब्ध स्रोतको उपयोग हुन नसकेको उहाँको भनाइ छ ।
खानी इन्जिनियर तथा भूगर्भविद् डा. पुरुषोत्तमप्रसाद अधिकारीले नेपालको निर्माण सामग्रीसम्बन्धी खनिज स्रोतको व्यावसायिक उपयोग र निर्यातमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले नेपालमा उपलब्ध कन्स्ट्रक्सन स्टोन तथा रोडा–ढुंगाको उत्पादन र बजार विस्तार गर्दै बंगलादेश, भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालसम्म निर्यातको सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले रोडा–ढुंगाको उत्खनन, उत्पादन र आपूर्तिका लागि खानी तथा भूगर्भ विभागमा मात्रै निर्भर नभई प्रदेशगत रूपमा सरकारी संयन्त्र वा निगम स्थापना गर्नुपर्ने प्रस्ताव अघि सार्नुभयो । त्यस्ता संस्थाले खनिज स्रोतको मूल्यांकन, सञ्चालन, उत्पादन र आपूर्तिको जिम्मेवारी लिनुपर्ने गरी ऐन निर्माण गर्न उहाँको सुझाव छ ।विज्ञहरूले खानी तथा खनिज क्षेत्रको विकासका लागि उत्खननको पारदर्शी अनुगमन, दक्ष जनशक्ति, अद्यावधिक तथ्यांक, संघीय संरचनाअनुसार संस्थागत विस्तार र खनिजको व्यावसायिक उपयोगलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।




