काठमाडौँ ।
सांसदहरुले चलचित्रकर्मीको सामाजिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सोमवार भएको चलचित्र विधेयक, २०८१ माथिको छलफमा उनीहरुले कानून निर्माण गर्दा लगानीको सुरक्षाको लागी बीमा र चलचित्रकर्मीको सामाजिक सुरक्षालाई समेट्नुपर्ने बताएका हुन् । नीतिगत सुधार गरी चलचित्रलाई अब सरकारले उद्योगको रुपमा विकास गर्नुपर्ने उनीहरुको भनाई छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. लेखजंग थापाले चलचित्रलाई पर्यटन, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको उद्योगका रूपमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले चलचित्रकर्मीको सामाजिक सुरक्षालाई पनि विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । चलचित्र क्षेत्रमा योगदान गरेका व्यक्तिहरूको संरक्षणका लागि राज्यले प्रभावकारी व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । अहिले कलाकारको निधनमा समेत आधारभूत सम्मान र सहयोग नपाउने अवस्था रहेको उहाँले बताउनु भयो । उहाँले चलचित्र विकास बोर्डलाई पनि हस्तक्षेपमुक्त बनाउनुपर्ने बताउनुभयो । उहाँले चलचित्रमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुका साथै चलचित्रमा समावेश हुने विषयवस्तुको सामाजिक सान्दर्भिकता र संवेदनशीलतालाई पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सेन्सरशिपको वाहानामा अनावश्यक हस्तक्षेप गर्न नहुने उहाँको भनाई छ । बरु बालबालिकाले हेर्न मिल्ने तथा नमिल्ने चलचित्रको स्पष्ट वर्गीकरण गरि उमेरअनुसारको पहुँच सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाली चलचित्रको संरक्षण तथा प्रवद्र्धनका लागि स्वदेशी चलचित्रको प्रदर्शन र बजार प्रवद्र्धनसम्बन्धी स्पष्ट व्यवस्था ऐनमै समेट्नुपर्ने उहाँले बताउनु भयो । विदेशी लगानीका लागि निश्चित मापदण्ड र नियमनसहित खुला वातावरण बनाउन सके नेपाली चलचित्रमा अन्तर्राष्ट्रिय लगानी, सहकार्य र चलचित्र पर्यटनको सम्भावना विस्तार हुने उहाँको भनाइ छ ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले चलचित्र उद्योग र पर्यटन उद्योगलाई एकआपसमा जोडेर अघि बढाउनुपर्ने बताउनु भयो । नेपाललाई खुला चलचित्र स्टुडियोका रूपमा विकास गर्ने सम्भावना रहेको उहाँको भनाई छ । उहाँले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, अनुकूल कानूनी व्यवस्था र चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनु भयो । नेपालको बहुसांस्कृतिक विविधता, ऐतिहासिक विकासक्रम र गौरवशाली इतिहासलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकिने उहाँको भनाइ छ । चलचित्रकर्मीको सामाजिक सुरक्षालाई पनि राज्यले प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चलचित्रलाई समाज, सरकार र मानव जीवनका बहुआयामिक पक्षलाई जोड्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले स्वदेशी चलचित्रको पहुँच र उपलब्धता विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभयो । नेपाली चलचित्र सहज रूपमा उपलब्ध नहुँदा युवापुस्ता तथा बालबालिकाको पहुँच विदेशी चलचित्रतर्फ बढी भएको उहाँको भनाई छ । नेपाली चलचित्रले प्रदर्शनका लागि सिनेमा हल नपाउने समस्या रहेको उल्लेख गर्दै उहाँले स्वदेशी चलचित्रलाई प्रोत्साहन गर्न राज्यले नै ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले नेपाली चलचित्र निर्मातालाई लगानीको जोखिमबाट सुरक्षित गर्न बीमाको व्यवस्था गर्नुपर्ने प्रश्ताव समेत गर्नुभयो । चलचित्र निर्माणका क्रममा लगानी गुम्ने जोखिमका कारण निर्माताले हिचकिचाउनुपर्ने अवस्था अन्त्य गर्न राज्यले सुरक्षित लगानीको वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ । सांसदहरूले नेपाली चलचित्र क्षेत्रमा देखाउने विषयवस्तुलाई गुणस्तरीय बनाउन राज्यले आवश्यक ध्यान दिनुपर्नेमा पनि जोड दिएका छन् ।




