थला परेको चलचित्र क्षेत्र चलायमान बनाउन के गर्ने ? : कलाकार | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

थला परेको चलचित्र क्षेत्र चलायमान बनाउन के गर्ने ? : कलाकार

काठमाडौं, २३ चैत । वरिष्ठ कलाकार नीर शाहले औद्योगिक चरित्र हालिस गर्न नसकेका कारण चलचित्र क्षेत्र उद्योगको रुपमा स्थापीत हुन नसकेको बताएका छन् । आइतबार नेपाल चलचित्र निर्देशक समाजको १३ औं वार्षिक साधारणसभामा बोल्दै वरिष्ठ कलाकार शाहले चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीति नियम बनाएपनि औद्योगिक चरित्र हासिल नभएसम्म उद्योगको रुपमा स्थापीत हुन नसक्ने बताएका हुन् ।

यस्तै चलचित्र क्षेत्र आफै राष्ट्रिय स्तरको बन्न नसकेको पनि शाहले बताए । जुन भाषालाई मात्र लिएर दशकौं देखि सिनेमा बनेका छन् त्यसकै आधारमा राष्ट्रिय भइसक्नुपर्ने तर त्यसो हुन नसक्नुको मुख्य कारण सबैले जान्ने र माया गर्ने भाषामा चलचित्रलाई प्रस्तुत गर्न नसक्नु नै रहेको उनको तर्क छ । जबसम्म देश भरका सम्पूर्ण भाषा, संस्कृति, संस्कारलाई सन्तुलित ढङ्गबाट अगाडी बढाउन सकिन्न तबसम्म चलचित्र उद्योगले राष्ट्रिय स्वरुप हासिल गर्न नसक्ने पनि वरिष्ठ कलाकार शाहले बताए ।

कुनैपनि वित्तीय संस्था चलचित्र निर्माणका लागि वित्तीय सहायता दिन तयार नभएसम्म नेपाली चलचित्र क्षेत्र चलायमान बन्न नसक्ने पनि शाहको भनाई छ । देशभरका जुनसुकै भाषा, समुदाय, संस्कृति र संस्कारमा विश्वास गर्ने चलचित्रकर्मीहरु एकजुट भएर दरिलो वित्तीय संस्था गठन गर्न तत्पर हुन पनि उनले आग्रह गरे । वित्तीय संस्था निर्माण गर्न सक्ने हो भने भोलिका दिनमा सम्पूर्ण मागहरुलाई सम्बोधन गर्न सकिने तर त्यसो हुन नसके आगामी दिनमा चलचित्र क्षेत्र अझ कठिन भएर जाने पनि शाहको भनाई छ ।

नेपाल चलचित्र निर्देशक समाजको १३ औं वार्षिक साधारणसभामा उपस्थित कलाकार तथा निर्माताहरुले कोभिडबाट सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन चुनौती रहेको बताएका छन् । नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सबैभन्दा पहिला हल खोल्नुपर्ने बताए । त्यसपछि स्वास्थ्य मापदण्ड पालना गरी दर्शकलाई चलचित्र हेर्न आह्वान गर्नुपर्ने उनको भनाई छ ।

निर्देशक समाजका उपाध्यक्ष राजु अधिकारीले दर्शकलाई हलमा जाँदा स्वास्थ्य मापदण्ड पुरा गरी सुरक्षाको आभास दिलाउनुपर्ने बताए । निर्देशक समाजका सचिव जनकदीप बज्राचार्यले सिनेमा दर्शक, सरकार र सबैको सकारात्मक सहयोग भएमा थलिएको सिनेमा क्षेत्र चलायमान बनाउन सकिने बताए । यस्तै निर्देशक, निर्माता नरेश पौडेलले सरकारले पाँच वर्ष सम्मका लागि चलचित्र क्षेत्रका सबै व्यवसायलाई सम्पूर्ण रुपले कर छुट गर्नुपर्ने तर्क राखे ।

कलाकार दिनेश डिसीले सबैभन्दा पहिला गास, बास र कपासको समस्या समाधान नभईकन चलचित्र क्षेत्र चलायमान बन्न नसक्ने बताए । जनजीवन समान्य बन्दै गएको अवस्थामा चलचित्रकर्मीहरु सबैले आफ्नो कामलाई निरन्तरता दिई चलचित्र प्रदर्शनका लागि तयार हुनुपर्ने उनको भनाई छ ।

कलाकार दिपाश्री निरौलाले सामाजिक दुरी कायम गर्दै चलचित्र हेर्नका लागि आम दर्शकलाई आह्वान गर्नुपर्ने बताए । कोभिड पछि जनजीवन विस्तारै समान्य बन्दै गएको अवस्थामा पनि चलचित्र क्षेत्र सूचारु हुन सकेको छैन । खासगरी कसले पहिला चलचित्र प्रदर्शन गर्ने भन्ने अन्योल चलचित्र निर्माताहरुमा देखिएको छ ।

कोभिडपछि खुलेको बजारमा चलचित्र हेर्नका लागि दर्शक नआउने हुन की भन्ने आशंकाले चलचित्र क्षेत्र चलायमान हुन नसकेको चलचित्रकर्मीहरुको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);