एजेन्सी । चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ ।
बिहीबार बिहान भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । खेलमा अग्रता चेल्सीले २७ औं मिनेटमा हाकिम जियाचको गोलबाट लिएको थियो ।
७३ औं मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि विन्डसर पार्कमा चेल्सी च्याम्पियन बनेको हो । पहिलो हाफमा उत्कृष्ट प्रर्दशन गरेको चेल्सीका लागि खेलको अन्तिम समयमा किपा मैदान छिरेका थिए ।
चेल्सी गत सिजनको च्याम्पियन्स लिग विजेता हो भने भिल्ला रियल युरोपा लिग विजेता हो । युईएफले हरेक वर्ष सिजन सुरु हुनु अघि युरोपेली क्लब फुटबलका दुई ठुला प्रतियोगिताका विजेतालाई मैदान उतार्ने गर्छ ।
नयाँ सिजन सुरु हुनु अघि दुवै टिम सुपर कपका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगिता पहिलो पटक नर्दन आयरल्याण्डमा १३ हजार दर्शक समक्ष भएको हो ।