एजेन्सी,१८ साउन । इंग्लिस फुटबल प्रतियोगिता एफ ए कपको उपाधि आर्सनलले उपाधि उचालेको छ । शनिबार राति वेम्बलीमा भएको फाइनलमा १० खेलाडीमा सिमित चेल्सीलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो ।
आर्सनललाई उपाधि दिलाउन पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे । चेल्सीका क्रिस्टियन पुलिसिचले एक गोल गरे । खेलको पाँचौं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा आबुमियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ६७ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २ -१ को जित दिलाए । खेलको ७३ औं मिनेटमा माटियो कोभासिचले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।
यससँगै आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको छ । यस अघि आर्सनलले सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई २-० ले हराएर फाइनलमा स्थान पक्का गरेको थियो । चेल्सीले भने म्यानचेस्टर युनाइटेडलाई ३-१ ले हराएर आर्सनलसँग उपाधि भिडन्त पक्का गरेको थियो ।




