आजबाट कोरोना भाइरसविरुद्धको एस्ट्राजेनका खोप लगाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजबाट कोरोना भाइरसविरुद्धको एस्ट्राजेनका खोप लगाइँदै

काठमाडाैं । आजबाट कोरोना भाइरसविरुद्धको एस्ट्राजेनका खोप लगाइँदै छ ।

गत चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी करिब १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउन लागिएको हो ।

साथै सरकारले दोस्रो मात्रा लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई एस्ट्राजेनका खोप दिने प्राथमिकता राख्ने निर्णय गरेको छ ।

खोप लगाउन काठमाडौं जिल्लामा मात्र १४४ वटा खोप केन्द्र तोकिएको छ । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लक्षित समूहलाई लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप लगाउन काठमाडौं महानगरपालिकामा १७ वटा खोप केन्द्र तोकिएको छ ।

यस्तै, कीर्तिपुर नगरपालिकामा १०, चन्द्रागिरी नगरपालिकामा १५, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९, बूढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा ११, गोकर्णेश्वर नगरपालिकामा ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा खोप केन्द्र तोकिएको छ ।

महानगरपालिकाको हकमा राधास्वामी आइसोलेसन सेन्टर, बालाजु, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पतालमा पनि खोप लगाउन सकिने कार्यालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);