कोरोनाको कारण नेपाली महिला भलिबल टोलीले गुमायो ठूलो अवशर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोनाको कारण नेपाली महिला भलिबल टोलीले गुमायो ठूलो अवशर

काठमाडौं । कोरोना भाइरसको उच्च जोखिम भएको देशको सूचीमा आयोजक फिलिपिन्सले नेपाल र भारतलाई राखेसँगै फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल खेल्नबाट बञ्चित भएको छ ।

महिना दिनदेखि तयारी गरेको नेपालको अवसर गुम्दा खेलाडी केही निराश पनि भएका छन् । पहिलो पटक एसियन भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाएको नेपाली महिला भलिबल टोलीलाई शुक्रबार एसियन भलिबल कन्फेडेरेसन एभीसीले जारी गरेको तालिका पछि केही निराश बनायो ।

ठूलो प्रतियोगिता खेल्न पाउने उमंगका साथ तयारी गरेको महिला टोली उक्त तालिकाले स्तब्ध पनि भए । आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक भएसँगै नेपालको अवसर गुमेको छ । कोरोना भाईरसको रेड जोनमा नेपाललाई समावेश गरेका कारण एभीसीले प्रतियोगितामा समावेश नगरेको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए ।

नेपाल रेड जोनमा परेको भन्दै आयोजकले नेपाललाई समावेश नगरेको भलिबल संघले यस अघि विज्ञप्ति जारी गरिसकेको छ । अन्तिम समयमा आएर महिला टोलीले एसियन च्याम्पियनसिप खेल्ने मौका गुमाउँदा खेलाडी निराश भएको कप्तान अरुणा शाहीले बताइन् ।

ठूलो प्रतियोगितामा सहभागिता जनाउने मौका गुमाए पनि अन्य प्रतियोगितामा टोलीले राम्रो गर्ने शाहीको विश्वास छ । एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुँदै छ । नेपालको सहभागिताका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपले समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै संघले खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारीको वातावरण मिलाएको थियो ।

तर अन्तिम समयमा आएर नेपाल प्रतियोगिताभन्दा बाहिर हुँदा ठूलो प्रतियोगितामा सहभागी हुने राम्रो अवसर गुमेको हो । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, चाईनिज ताइपेइ, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताबाट बाहिर रहेका नेपाल र भारतलाई एभीसीले आयोजना गर्ने अन्य प्रतियोगितामा उच्च प्राथमिकता दिने समेत बताएको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए । कोभिडका कारण झण्डै डेढ वर्ष रोकिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागीतालाई एसियन च्याम्पियनसिपबाट ढोका खोल्ने नेपालको लक्ष्य अधुरै बनेको छ ।

पहिलो पटक देशको प्रतिनिधित्व गर्दै एसियाली प्रतियोगितामा सहभागिता जनाउँदै अनुभव बटुल्ने योजनामा पनि धक्का लागेको छ । प्रतियोगिता तयारीका लागि नेपाल भलिबल संघले असार १ गतेबाट खेलाडीको प्रारम्भिक प्रशिक्षण समेत सुरु गरेको थियो ।

संघको छनोट समितिले प्रारम्भिक ३० सदस्यीय टोलीबाट १८ खेलाडी छनोट गरेको थियो । संघले दोस्रो चरणमा ९ खेलाडीलाई बाहिर राख्दै प्रतियोगिताको तयारीलाई तीब्रता दिइरहेको थियो । नेपालले सहभागिता नजाउने भएपछि बन्द प्रशिक्षणमा रहेका महिला खेलाडीहरुलाई शनिबारै भलिबल संघले घर पठाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);