काठमाडौं ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देशलाई माया गरेकै कारण आफूले गाली खानुपरेको गुनासो गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा उहाँले देशको हितका लागि आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको गुनासो गर्नुभयो । उहाँले आफूले धरानको मेयर हुँदा दैनिक करिव एक हजार गाली पाउने गरेको स्मरण गर्र्दै हाल त्यो संख्या बढेर दैनिक १० हजार पुगेको बताउनु भयो । अध्यक्ष राईले दार्चुलामा पुल बनाउने क्रममा पनि आफूलाई गाली आएको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको आशंका पनि व्यक्त गर्नुभयो ।
उहाँले सो पुल विवादका बीच पनि निर्माण सम्पन्न हुन लागेको र छिट्टै उद्घाटन गर्ने दाबी गर्नुभयो । नेपाली समाजमा अरूले गरेको कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै उहाँले त्यसको अन्त्य नभएसम्म देश बन्न नसक्ने बताउनु भयो । आफू काम नगर्ने र अरुलाई पनि गर्न नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाई छ । अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको पनि आरोप लगाउनु भयो । उहाँले सीमा सुरक्षाका विषयमा राज्य संवेदनशील हुनुपर्नेमा जोठ दिनुभयो । उहाँले विदेशी ऋण लिएर विकास गर्नेभन्दा स्वदेशी स्रोत र श्रममा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनु भयो ।उहाँले श्रम संस्कृति पार्टीका कोही पनि सांसदले भ्रष्टाचार नगर्ने दाबी गर्नुभयो । पार्टी संगठनलाई देशभर विस्तार गर्ने उल्लेख गर्दै उहाँले आगामी स्थानीय तहको निर्वाचनमा श्रम संस्कृतिलाई जिताउन आग्रह पनि गर्नुभयो ।




