आज मच्छिन्द्रनाथको रथयात्रा, सांकेतिक रथयात्रा गराई जात्रा सम्पन्न गराइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

आज मच्छिन्द्रनाथको रथयात्रा, सांकेतिक रथयात्रा गराई जात्रा सम्पन्न गराइने

ललितपुर । ललितपुरमा शनिबार रातो मच्छिन्द्रनाथको रथयात्रा हुने भएको छ ।

कोरोना महामारीका कारण यस वर्ष पनि रातो मच्छिन्द्रनाथको रथयात्रा सांकेतिक मात्र हुने भएको हो ।

शनिबार साढे २ बजे रथयात्रा प्रारम्भ गरिने बताइएको छ । पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा निर्माण गरिएको रथलाई करिव २५ मिटर तल पुल्चोक पाटीसम्म मात्र तानिने छ । रथयात्रामा स्वास्थ्य मापदण्डको पालना गरी जम्मा १ सय ५० जनाको मात्रै सहभागी रहने ज्यापु समाजले जनाएको छ ।

गएको बुधबार ज्यापु समाज लगायत विभिन्न खलहरु बसेको बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दै सांकेतिक रुपमा मात्र रथयात्रा गर्ने निर्णय गरेको हो । पुल्चोकबाट सुरु भई ललितपुर पाटनको विभिन्न स्थानहरु परिक्रमा गरी जावलाखेलमा भोटो देखाएर मनाईने यो जात्रा यो पटक पुल्चोक पाटीसम्म मात्र तानेर त्यहीँ सकाउन लागिएको हो ।

अघिल्लो वर्ष पनि कोरोना महामारीका कारण रथयात्रा हुन सकेको थिएन । सरोकारवालाहरुले रथयात्रामा कुनै चासो नदेखाएको भन्दै स्थानीयले लकडाउन उल्लघंन गर्दै रथयात्रा गरेका थिए । सोही क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।

मच्छिन्द्रनाथलाई बैशाख पूर्णिमाको भोलिपल्ट महास्नान गराईएको थियो भने गएको बुधबार रथारोहण गराईएको थियो । यस जात्रालाई उपत्यका कै लामो जात्रा भन्ने गरिन्छ ।

वर्षा र सहकालका देवता मच्छिन्द्रनाथ रथ यात्रा आज देखि आरम्भ हुनेछ । लोकनाथ, रातो मच्छिन्द्रनाथ बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्याव लोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रहिआएको छ ।

आर्याव लोकितेश्वरको शिरमा रत्नमुकुट र निधारमा टीका र कानमा रत्नजडित गहना लगाउनाका साथै घाँटीमा कर्कोटनागको रत्नमाला, हातमा चुरा तथा बाला र खुट्टामा कल्लीले सुशोभित गरिएको हुन्छ । मच्छिन्द्रनाथको रथ ८०० सालमा नरेन्द्रदेवको छोरा राजा बरदेवले बनाउने चलन चलाएका मान्यता रहेको छ ।

प्राचिनकालदेखि नै यो जात्रा उत्तिकै उत्साह, भक्ति र पवित्रताका साथ मनाउने गरिन्छ । रातो मच्छिन्द्रनाथको रथ यात्रारम्भ अघि ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको गत बुधबार रथारोहण गरिएको थियो ।

मुलुकमा दिनानुदिन देखिएको कोरोना कहरलाई ध्यानमा राखी आवश्यक मानिसको सहभागितामा मच्छिन्द्रनाथलाई पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएकोे थियो । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ ।

रथारोहण क्रममा हाल विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड महामारीलाई ध्यानमा राखी सरकारले तोकेको नियम पालना समेतगरिएको थियो । लोेकेश्वरलाई रथारोहण गर्न लानुपूर्व कटुवालदहबाट कलश यात्रा गरेको ल्याएको जल उहाको पाउमा अर्पण गरिएको थियो । तत्तपश्चात पुजारीद्धारा भजन र पाठ गरिएको थियो ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलनानुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । प्राचिन बुङ्गमती गाँउ मत्स्यनाथको जन्मथलो मानिन्छ, मत्स्यनाथ एकजना सिद्धपुरुष हुनुहुन्छ जस्ले प्रकृतिका हरेक अवयवहरुमाथि नियन्त्रण गर्न सक्नुहुन्छ ।

सहकालका यि देवतालाई तसर्थ उपत्यकावासीहरुले वर्षाका देवका रुपमा हजारौंवर्ष देखि पूज्दै आएका छन् । बाग्मती सभ्यतामा मत्स्यनारायणका अनेक रुप छन्, हिन्दुहरु यिनलाई करुणामयी गुरुका रुपमा पूज्दछन् भनें बौद्धमार्गिहरु यिनलाई पञ्चबुद्धमध्ये चौंथो स्वरुप पद्धपाणीका रुपमा पूज्दछन् । म्हेपी डाँडाको माटोले बनेंको करुणामयीको मूर्तिमा कलशमा रहेको देवताको आत्मालाई प्रतिस्थापन गर्ने गरिन्छ ।

स्नान गराएर पवित्र करुणामयीको धरोहरलाई अक्षयतृतियाका दिन गौदान सहित शान्तीस्वस्ती गरिन्छ । यसपछि ललितपुर र काठमाण्डौका बिभिन्न ठाँउहरुमा २ महिनासम्म अवलोकेश्वरको रथलाई परिक्रमा गराइन्छ, अन्तत असार शुक्ल चौथिमा जावलाखेलमा भोटो देखाएर यस रथयात्राको औपचारीक अन्त्य गरिन्छ र प्रतिमालाई लगेर प्राचिन बुङ्गमती गाँउमा राखिने चलन छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);