एजेन्सी । भारत सरकारले कोरोना महामारी तीब्र गतिमा फैलिएपछि गरीब जनताका लागि राहत प्याकेज घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २ खर्ब ६० अर्ब रुपैयाँ बराबरको राहत प्याकेजको घोषणा गर्नुभएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
यो राहत प्याकेज अन्तर्गत गरीब जनतालाई दुइ महिनाका लागि निशुल्क खाद्यान्न बितरण गरिने छ । प्रधानमन्त्री गरीब कल्याण कोष अन्न योजना अन्तर्गत प्रति ब्यक्ति ५ किलो चामल बितरण गरिने जनाइएको छ ।यसबाट भारतका ८० करोड गरीब जनतालाई राहत मिल्ने छ ।
यसैबीच भारतीय प्रधानमन्त्री मोदीले १० वटा राज्यका मुख्य मन्त्रीहरुसंग आकस्मिक बैठक समेत गरेका छन् ।
भच्र्युअल वैठकमा प्रधानमन्त्री मोदीले कोरोनाले भयावह रुप लिईरहेको बेला देशमा अक्सिजन अभाव हुन सक्नेतर्फ सरकार सचेत रहेको र अक्सिजन अभाव हुन नदिन सरकार लागिपरेको बताउनुभयो ।
यसैबीच भारतमा कोरोना भाइरसको नयाँ संक्रमण दर र संक्रमितको मृत्यु दरले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । शनिबार बिहानको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४५ हजार संक्रमित थपिएका छन भने २ हजार ६ सय २१ जनाको मृत्यु भएको छ ।




