प्रचण्डले आफूमा मदन भण्डारी देख्नुको अन्तर्य (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रचण्डले आफूमा मदन भण्डारी देख्नुको अन्तर्य (भिडियाेसहित)

आफ्नो बोली र राजनैतिक अडानमा कायम रहन नसक्ने राजनेताका रुपमा नेपालमा परिचित नाम हो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । कुन बेला के बोल्ने र कतिबेला आफैंले अघिल्लो पटक बोलेको कुरालाई खण्डन गर्ने अर्को अभिब्यक्ति दिने शैलीलाई प्रचण्डकै निकटस्थहरुले समेत अन्दाज गर्न सक्दैनन् । त्यसमाथि पछिल्लो राजनैतिक घटनाक्रममा प्रचण्डले उठाएका कदम र सार्वजनिक रुपमै जारी अभिब्यक्ति कै कारण पछिल्लो समय उहाँ बढि चर्चामा रहेको देखिन्छ ।

२०७४ जेठमा नेकपा एमाले र प्रचण्डकै नेतृत्वको नेकपा माओवादी केन्द्र बिच एकता भई निर्माण भएको नेकपालाई अदालतले विघटन गरिदिए लगत्तैबाट सार्वजनिक रुपमा दिंदै आएका अभिब्यक्तिलाई हेर्दा प्रचण्डले आफ्नो राजनैतिक भविष्य कतै अन्धाकारयुक्त त देखेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ । अदालतले नेकपाको विघटनसँगै साबिक एमाले र माओवादी केन्द्रलाई नै निरन्तरता दिने निर्णय गरे लगत्तैबाट सरकार विरोधी मोर्चा बनाउन दत्तचित्त भएर लाग्नुभएका प्रचण्ड कहिंकतै सफल हुने लक्षण देखिएको छैन । आफ्ना हरेका राजनैतिक चाल प्रत्युत्पादक हुँदै गएपछि यतिबेला प्रचण्डको बोली बेग पनि थामिनसक्नु गरि हुत्तिन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध एक सुत्रीय एजेण्डा बनाएर अघि बढ्नुभएका प्रचण्डले सत्तारुढ दल एमाले भित्रको किचलोमा खेलेर आफ्नो राजनैतिक उद्देश्य पुरा गर्ने प्रयास सुरु गरेको देखिन्छ । राजनीतिमा यसो हुनुलाई अन्यथा नमानिन सक्छ, तर अर्को दलभित्र खेले नाममा त्यही दलका कार्यकर्ताले सम्मान गरेका नेताको प्रतिरुपमा आफैंलाई दावा गर्नुलाई भने सहज अर्थमा बुझ्न सकिन्न । पछिल्लो समय प्रचण्डका राजनैतिक अभिब्यक्तीहरुमा राजनैतिक कम र कुण्ठाको कलेबर बढी पाईन थालिएको छ ।

राजनीतिक नेतृत्वको माथिल्लो तहमा रहेका ब्यक्तिबाट आउने यस्ता अभिब्यक्तीलाई लिएर सहजै अनुमान लगाउन सकिन्छ, ती ब्यक्ती या त आफु पुर्ण रुपले सिद्धिने तहमा पुगिसक्यो, या उ आफ्ना हरेक प्रयासमा पाएको असफलताका कारण बिक्षिप्त बन्यो । एउटा राजनेताबाट आउने यस्ता बहुलठ्ठीपुर्ण अभिब्यक्ती तत्कालका लागि राजनीतिक बजारमा लागि खपत योग्य बिषय पनि बन्दैन ।

गतसाता माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले आफुमा एमाले कार्यकर्ताले जननेता मदन भण्डारीको झल्को देखेको अभिव्यक्ति दिनुभयो । आफ्नो यो भनाईलाई पुष्टी गर्न प्रचण्डले गत बर्ष माघमा आफुले अध्यक्षता गरेको नेकपा केन्द्रीय समितीको प्रसंग नै जोड्नुभएको थियो । प्रचण्डले आफुले अध्यक्षता गरेको बैठकमा सहभागी केन्द्रिय सदस्य मात्रै नभएर विभिन्न जिल्लाका प्रशिक्षण कार्यक्रममा सहभागी भईरहँदा त्यहाँ कार्यकर्ताले समेत आफुमा मदन भण्डारी भेटेको बताएर जग हँसाई नै गर्नुभएको छ ।

आफुलाई भण्डारीकै दाँजोमा उभ्याउने प्रयास गर्नुभएका प्रचण्डले कार्यकर्ताले आफुलाई मदन भण्डारी ठान्न थालेकै कारण ओलीले आफ्नो लोकप्रियता देखेपछि प्रतिक्रियावादीसँग मिलेर षडयन्त्र गरेको दावी समेत गरेर आफ्नो विचलित अबस्थाको प्रदर्शन नै गरेपछि भने राजनैतिक वृतमा यतिबेला स्वयं प्रचण्ड हाँसोको पात्र बन्न पुगेको स्पष्ट छ ।

नेकपामा रहँदा होस वा पुनः माओवादी केन्द्रमै फर्कनु परेको अबस्थामा होस्, आफ्ना एजेण्डामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली वाधक बनेर उभिएकै कारण कुण्ठावश प्रचण्डले सार्वजनिक रुपमै आफुमा एमालेका नेता स्व. मदन भण्डारीको प्रतिछायाँ रहेको भन्ने जुन अभिब्यक्ती सार्बजनिक गर्नुभएको छ, त्यसबाट पनि प्रचण्ड विस्तारै गल्दै गएको संकेत मिल्न थालेको छ । आगामी दिनमा आफ्नाको एजेण्डामा काँग्रेस सहमत भएन भने, कतै प्रचण्डले आफुमा विपीको प्रतिछायाँ रहेको भनेर दावी गर्ने अवस्था बन्ला कि नबन्ला, यतिबेला काँग्रेसजनमा यो विषय चर्चित बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);