भक्तपुरमा ५६ सय ७७ जनाले लगाए कोरोना विरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भक्तपुरमा ५६ सय ७७ जनाले लगाए कोरोना विरुद्धको खोप

सुवास चौलागाईँ
भक्तपुर, ११ फागुन ।
भक्तपुर जिल्लामा हालसम्म ५ हजार ६ सय ७७ जनाले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा २ हजार ४ सय ७४ र दोस्रो चरणमा अहिले सम्म थप ३ हजार २ सय ३ जना गरी अहिलेसम्म ५ हजार ६ सय ७७ जनाले खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार पहिलो चरणमा भन्दा दोस्रो चरणमा भक्तपुरमा उत्साहजनक ढंगले कोभिड १९ विरुद्धको खोप लगाइएको छ । पहिलो चरणमा खोप नलगाएका एकसय ५३ स्वास्थ्यकर्मीले दोस्रो चरणमा खोप लगाएको कार्यालयका प्रमुख मिजारले बताए । दोस्रो चरणमा ९८ महिला र ५५ पुरुष स्वास्थ्यकर्मीहरुले खोप लगाएको हुन् ।

सरकारले दोस्रो चरणमा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरु, प्रहरीलगायतलाई खोप दिने व्यवस्था गरेको थियो । सोहीअनुसार अहिलेसम्म २ हजार ८ सय २९ जनाले दोस्रो चरणमा खोप लगाएको प्रमुख मिजारले जानकारी दिए ।

यसैबीच भक्तपुरका चार वटा नगरपालिका जनप्रतिनिधि तथा नगरपालिका कर्मचारीहरुमध्ये हालसम्म ४ सय ३ जनाले खोप लगाएका छन् । जसमा २ सय ६७ पुरुष र एकसय ३६ महिला रहेका छन् । त्यस्तै २ सय २० पुरुष र एकसय ५१ महिला गरी ३ सय ७१ सरकारी कर्मचारीहरुले पनि निःशुल्क खोप लगाएका छन् । न्यायालयतर्फ ४२ पुरुष र २२ महिला गरी ६४ जनाले खोप लगाउँदा १६ पुरुष र २ महिला गरी १८ पत्रकार, निर्वाचन कार्यालयका ८ पुरुष कर्मचारीहरुले पनि खोप लगाएका छन् ।

भक्तपुरमा चारवटा नगरपालिका र भक्तपुर अस्पताल गरी ५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ । चार नगरपालिकामध्ये भक्तपुरको लागि नगरपालिकाले चलाएको जनस्वास्थ्य केन्द्र, मध्यपुर थिमिको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र सूर्यविनायक तथा चाँगुनारायणको लागि नगरपालिकाले सञ्चालनमा ल्याएको नगरपालिका अस्पतालमा खोप केन्द्र सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा ५ हजार ३ सय ९२ पुरुष र ४ हजार एकसय ७५ महिला गरी ९ हजार ५ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ८२ पुरुष र ४५ महिला गरी एकसय २७ जनाको मृत्यु भएको प्रमुख मिजारले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);