काठमाडौं, ११ पुष । औपचारिक रुपमा विभाजनको घोषणा नगरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुलाई आफ्नो पक्षमा पार्ने हेडबाजी चलिरहेको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा दाहाल–नेपाल पक्षमा कतै नखुलेका उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा पार्ने प्रयत्न दुबै पक्षबाट भैरहेको छ ।
यही क्रममा शनिबार मात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष गौतमसँग भेटवार्ता गर्नुभएको छ । प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा पार्टी विभाजन र प्रतिनिधिसभा विघटनका सम्बन्धमा छलफल भएको बताइएको छ ।
भेटवार्तामा प्रचण्डले गौतमलाई आफूहरुको पक्षमा आउन आग्रह गरेको भएपनि गौतमले आफू अझैपनि पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नुभएको हो ।
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल पक्ष दुई कित्तामा छुट्टिएका छन् । त्यसपछि तटस्थ देखिएका गौतम अहिलेसम्म कुनै पक्षले बोलाएको बैठकमा उपस्थित हुनुभएको छैन ।