काठमाडाैं, १३ फागुन । नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहालसँग सर्वोच्चको आदेशपछि नेकपालाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर गौतमले दाहालसँग यस्तो आग्रह गरेका हुन् । दाहालसँग १ घण्टा छलफल गरेका गौतमले दाहाल नेपाल पक्ष नेकपा नै मूल पार्टी भएको भन्दै प्रधानमन्त्री ओलीलाई सम्मानजनक बर्हिगमन गरेर नेकपाकै नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव राखेको बताइएको छ ।
दाहालले गौतमले राखेका प्रस्तावहरू पार्टीका अर्का अध्यक्ष माधव नेपालसँग तथा पार्टीमा छलफल गरेर समस्याको निकास निकालेर अघि बढ्ने जवाफ दिएको जनाईएको छ । नेकपा विभाजनपछि पार्टी एकताको पक्षमा रहेका गौतमले पार्टी एकता समिति गठन समेत गरेका छन् ।