खुमलटार पुगेर ओलीले दिए पार्टी एकताको सन्देश | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

खुमलटार पुगेर ओलीले दिए पार्टी एकताको सन्देश

विभाजनको दिशातर्फ उन्मुख भैरहेको सत्तारुढ दल नेकपाको विवादमा एकाएक आइसब्रेक भएको छ । पुस ५ गते बोलाइएको स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगेर भेटवार्ता गरेसँगै नेकपा विवाद सहमति उन्मुख भएको संकेत दिएको छ ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँग मात्र होइन, गृहमन्त्री रामबहादुर थापासँग पनि मन्त्री निवास पुल्चोक पुगेर भेटवार्ता गरी एकताको सन्देश दिएपछि नेकपाभित्र मौलाइरहेको गुटगत राजनीतिमा नयाँ तरंग सृजना भएको छ । अघिल्लो दिन मात्रै पेरिस डांडामा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधरको जिल्ला स्तरीय भेला भएको भोलिपल्टै प्रधानमन्त्री ओली अध्यक्ष निवास खुमलटार पुग्नुलाई नेकपा राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

संवैधानिक परिषद्मा नियुक्तिका लागि पार्टी भित्रैबाट अवरोध सृजना गरिएको भन्दै सरकारले संवैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेश जारी गरेपछि नेकपा विवाद विभाजनकै तहमा पुगेको थियो । तर दोस्रो पुस्ताका केही नेताको सक्रियतामा पार्टीलाई विभाजनबाट रोक्न भएको पहलकदमी अनुरुप प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि आफैंले अग्रसरता लिनु भएको हो ।

प्रधानमन्त्री ओलीले नेकपा एकताको अन्तरिम विधान अनुसार अगाडि बढ्नुपर्ने अडान राख्दै आउनु भएको छ । तर विधि र विधानको रटान रट्दै नेकपा भित्रको एउटा पक्षले सत्तामा मात्रै ध्यान केन्द्रित गरेपछि नेकपा करिब एक वर्ष अघिदेखि नै गम्भीर संकटमा फस्दै आएको छ । सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर नेकपामा अर्थहीन ढंगले मच्चाइएको रडाको कै कारण मुलुकलाई अस्थिरताको खेलतर्फ लगिएको छ । जसले गर्दा पार्टी एकताबद्ध हुन सकिरहेको छैन भने सरकारले पनि सशक्त ढंगले काम गर्ने क्रममा अप्ठ्यारोको सामना गर्नु परिरहेको छ ।

मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादीले विशिष्ट अवस्थामा एकता गर्दै दुई अध्यक्षात्मक प्रणाली अपनाएका थिए । यसको अर्थ महाधिवेशसम्म अल्पमत–बहुमतको खेल नखेली सहमतीय पद्धतीमा जानुपर्ने थियो । प्रधानमन्त्री ओलीले बारम्बार यो कुरामा आफू अडिग रहेको सन्देश दिएको भएपनि अर्का अध्यक्ष प्रचण्ड पार्टी भित्रको यो विशिष्ट अवस्थालाई मध्यनजर गर्दै त्यो अडानमा टिकिरहन नसक्दा नै नेकपा विभाजनको डिलमा पुगेको हो । जुन मूल्य, मान्यता र विधिमा पार्टी एकता गरिएको थियो, त्यसलाई भत्काउँदै सत्ता नपाएका केही नेताहरुले मनोनित कमिटीको आडमा बहुमत र अल्पमतमा जान खोज्दा नै नेकपामा अहिले संकटको कालो बादल मडारिएको हो ।

पार्टी विधान अनुसार अगाडि बढ्ने हो भने दुई अध्यक्षको सहमतिमा मात्रै नेकपामा कुनैपनि निर्णय हुन सक्छन् । तर अमुक नेताहरुले आफ्नो स्वार्थमा पार्टीलाई बलि चढाउने काम गरिरहेका छन् । तर त्यसलाई तोडेर पार्टीभित्र विधानले व्यवस्था गरे बमोजिम अगाडि बढ्नुपर्ने आग्रह बारम्बार प्रधानमन्त्री ओलीले गरिरहनुभएको छ । पार्टी विवाद मिलाउन गठन गरिएको कार्यदलको सुझाव अनुसार गत भदौ २६ गते अध्यक्ष तथा प्रधानमन्त्री ओली सरकार संचालनमा सक्रिय हुने र अर्का अध्यक्ष दाहाल महाधिवेश केन्द्रित पार्टीको जिम्मेवारीमा केन्द्रित हुने निर्णय भएकै हो ।

यो निर्णयअनुसार कार्यकारी अध्यक्ष दाहालले १० दिन भित्र पार्टी एकताका काम सम्पन्न गरी आगामी चैत अन्तिम साता महाधिवेशन गर्ने कार्यतालिका ल्याइ सक्नुपर्ने थियो । तर अहिलेसम्म त्यो कार्यतालिका बनाउन नै दिइएको छैन । चुनाव हारेर पनि जस्केलाबाट संसद् छिर्न लाज नमानेका केही नेताहरुले प्रचण्डलाई विधान घोषित कार्ययोजनाबाट भड्काउने काम गरिरहेका छन् ।

एजेण्डा तय नगरी बैठक माग गर्ने र नियमित कार्यतालिका अनुसार बस्ने मन्त्रिपरिषद्का बैठकलाई समेत विवादित बनाउने धृष्टता सत्तामुखी नेताहरुले गरिरहेको दुर्भाग्यपूर्ण अवस्था नेकपाभित्र विकसित भैरहेको छ । प्रधानमन्त्री ओलीले महाधिवेशबाट आफू अध्यक्ष नहुने र आगामी निर्वाचनबाट प्रधानमन्त्री नबन्ने उद्घोष गरिसक्नुभएको छ । यस्तो अवस्थामा अध्यक्ष हुन खोज्नेले महाधिवेशन र प्रधानमन्त्री हुन खोज्नेले आगामी निर्वाचनसम्म कुर्नसक्नु पर्ने थियो ।

पार्टीलाई संकटबाट निकाश दिनसक्ने महाधिवेशनप्रति विश्वास नगरी अहिल्यै नै नेतृत्व हात पार्न खोज्ने प्रवृत्ति हावी भएसम्म नेकपाको संकट समाधान हुने छाँटकाँट पनि छैन । त्यसैले पार्टी एकताको मर्म र भावना अनुसार अध्यक्षद्वय ओली र दाहालले आफूलाई अगाडि बढाउन जरुरी भैसकेको छ । जबसम्म नेकपामा महाधिवेश नभएसम्म अध्यक्षद्वय मिलेर अगाडि बढ्छन्, तबसम्म नेकपा समस्यामा पर्दैन ।

तर सत्तालाई मात्रै केन्द्र बिन्दुमा राखेका केही नेताहरुको स्वार्थमा अध्यक्षद्वय फस्न पुग्छन्, तब नेकपालाई कसैले पनि जोगाउन सक्दैन । तर अध्यक्ष ओलीले समकक्षी दाहाल निवासमै पुगेर पार्टी एकताप्रति आफू प्रतिबद्ध रहेको सन्देश दिएपछि अर्का अध्यक्ष दाहाललाई पनि सोही अनुसार अघि बढ्न नैतिक दबाब परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);