एक चीन नीति विपरितका गतिविधिमा सरकारले अनुमति दिएको भन्दै एमालेको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

एक चीन नीति विपरितका गतिविधिमा सरकारले अनुमति दिएको भन्दै एमालेको आपत्ति

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले एक चीन नीति विपरितका गतिविधिलाई प्रश्रय दिएको भन्दै प्रतिनिधि सभामा आपत्ति जनाएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन सरकारले अनुमति दिएकोमा आलोचना गर्नुभयो । असार २२ गते स्वयम्भूस्थित नामग्याल निम्न माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रमले नेपाल र चीनबीचको सुमधुर सम्बन्धमा आँच पु¥याएको उहाँको दाबी छ । प्रमुख सचेतक महरले उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अष्ट्रेलियाली राजदुतहरूको उपस्थिति हुनुलाई अर्थपूर्ण र गम्भीर विषय भएको बताउनु भयो । नेपालको भूमि छिमेकी राष्ट्रहरूका विरुद्ध प्रयोग हुन नदिने राष्ट्रिय प्रतिवद्धता विपरीत सरकारले राष्ट्रहित प्रतिकूल र अपरिपक्व नीति लिएको उहाँको आरोप छ।

यसै सन्दर्भमा चीनका लागि नेपालका सात जना पूर्व राजदूतहरूले समेत विज्ञप्तिमार्फत विरोध जनाएको स्मरण गराउँदै महरले सरकारको नियतमाथि प्रश्न उठाउनु भयो । परराष्ट्र नीतिका सन्दर्भमा सरकारले केटाकेटीपन देखाएको टिप्पणी गर्दै महरले छिमेकीसँगको सम्बन्धमा सजग, गम्भीर र जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराउनु भयो । छिमेकी राष्ट्रसँगको सम्बन्धलाई खेलौनाको रूपमा नलिन र नेपालको सर्वोपरी हितमा काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply