सामाजिक सञ्जालको दलदलमा , भर्चुअल चमकभित्रै हराउँदै परिवार | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

सामाजिक सञ्जालको दलदलमा , भर्चुअल चमकभित्रै हराउँदै परिवार

संवाददाता
नरेन्द्र ज्ञवाली

सुचना प्रविधिको विकाससँगै स्मार्टफोन र इन्टरनेट आज प्रत्येक परिवारको अनिवार्य हिस्सा बनेको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युबजस्ता प्लेटफर्महरूले मानिसलाई जोडने काम गरेका छन् । तर अर्को पाटो भने निकै डरलाग्दो र भयावह बन्दै गएको छ । बाहिरबाट हेर्दा रमाइलो देखिने डिजिटल संसारले भित्रभित्रै परिवारहरूको सम्बन्धहरु भत्काइरहेको छ । सामाजिक सञ्जालहरूमा आउने पारिवारिक विखण्डन, अपराध र आत्महत्याका घटनाहरूले यसको पुष्टि गर्छ ।

भर्चुअल सम्बन्धको मोह र भत्किँदै गरेका वैवाहिक जीवन र अपराध
केहि समय अघि सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामबाट परिचित कुमार थापाको सार्वजनिक छवि अहिले पूर्ण रूपमा ढलेको छ । प्रेरणादायी सामग्री र व्यक्तिगत जीवनको सफलताको कथा सुनाउँदै आएका उनि आफ्नै श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि कारागार पुगेका छन् । काठमाडौं जिल्ला अदालतले हत्या प्रकरणमा थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि यो बहुचर्चित घटनाले नयाँ मोड लिएको थियो । यि यस्ता घटनाहरु समाजका उदाहरण मात्रै हुन ।एउटै कोठामा, एउटै परिवारमा बस्ने श्रीमान् र श्रीमती आ–आफ्नो मोबाइल स्क्रिनमा व्यस्त छन् । सामाजिक सञ्जालमा अपरिचित मानिससँगको कुराकानी, लाइक र कमेन्टको मोहले उनिहरुको वैवाहिक जीवनमा शंकाको बीउ थपेको छ । म्यासेज लुकाउने, पासवर्ड परिवर्तन गर्ने र पार्टनरलाई भन्दा फोनलाई बढी समय दिने बानीले परिवारमा अविश्वास बढाएको छ । सामाजिक सञ्जालकै कारण डिभोर्स अर्थात सम्बन्ध विच्छेद सम्म पुग्ने र घरेलु हिंसा हुने सम्मका घटनाहरू अचेल समाजमा सामान्य जस्तै बन्न थालेका छन ।

लाइक र भ्यूज को चक्करमा बालबालिका र किशोर–किशोरी
सामाजिक सञ्जालमा फेमिली भ्लगिङको नाममा साना बच्चाहरूलाई भाइरल बनाउने होडबाजी चलेको छ । आफ्ना सन्तानका हरेक गतिविधिलाई क्यामेरामा कैद गर्दै आमाबाबुहरू इन्टरनेटमा भिडियोहरु अपलोड गर्छन् । यसले गर्दा बच्चाहरूको गोपनीयता खोसेको छ नै, साथै उनीहरूलाई अनलाइन अपराधीहरूको निसाना समेत बनाइएको छ । डरलाग्दो कुरा त के छ भने , टिकटक वा अन्य प्लेटफर्ममा आउने अनलाइन च्यालेन्जहरू पूरा गर्ने धुनमा धेरै किशोर–किशोरीहरूले अनैतिक गतिविधि र च्यालेन्जको नाम ज्यान समेत गुमाएका छन्् ।

इन्टरनेटको लत र रोबोट बन्दै गरेको नयाँ पुस्ता
अनलाइन गेम जस्तै पब्जी, फ्री फायर र भिडियोको लतका कारण बच्चाहरूमा मानसिक समस्या तीव्र रूपमा बढिरहेको अन्तराष्ट्रिय अध्ययनहरुले बताउँछ । कोठाभित्र लगातार स्क्रिनमा टोलाउँदा उनीहरूमा डिप्रेसन, एन्जाइटी र एक्लोपन बढेको छ । आफ्नै आमाबाबुसँग बोल्न झर्को मान्ने तर सामाजिक सञ्जालमा घन्टौँ बिताउने बानीले उनीहरूलाई असामाजिक बनाउँदै लगेको छ । कतिपय अवस्थामा गेमका लागि पैसा चोरी गर्ने र आमाबाबुले फोन खोस्दा रिसको झोकमा आत्महत्या समेत गरेका घटनाहरूले समाजलाई स्तब्ध बनाएको छ ।

साइबर स्क्याम:एकै झट्कामा परिवार सडकमा
सामाजिक सञ्जाल सम्बन्ध भत्काउने माध्यम मात्र बनेको छैन, यसले आर्थिक रूपमा पनि परिवारहरूलाई सिध्याउँदैछ । नक्कली एकाउन्ट बनाएर प्रेमको नाटक गर्ने , चिट्ठा परेको लोभ देखाउने र अनलाइन लगानीको नाममा ठगी गर्ने गिरोहहरू सक्रिय छन । यस्ता डिजिटल ठगहरूको जालमा परेर कतिपयले आफ्नो जीवनभरको कमाइ र सम्पत्ति गुमाएका छन् । आर्थिक रूपमा कंगाल भएपछि परिवारमा आउने तनावले कतिपय अवस्थामा सिङ्गो परिवार नै सडकमा पुग्ने कहालीलाग्दा घटनाहरु सुन्ने गरिन्छ ।

अबको बाटो
सामाजिक सञ्जाललाई पूर्ण रूपमा त्याग्न सम्भव छैन, तर यसको दास बन्नु मूर्खता हो । अब प्रत्येक परिवारले आत्मसमीक्षा गर्ने बेला आएको छ । घरमा नो फोन जोन जस्तै डाइनिङ टेबल वा बेडरुममा फोन निषेधको नियम लागू गर्नुपर्छ । बालबालिकालाई डिजिटल उपकरण दिनुको साटो बाहिरी खेलकुद र सामाजिक गतिविधिमा व्यस्त गराउनुपर्छ । इन्टरनेटको यो डरलाग्दो दलदलबाट आफ्नो परिवारलाई जोगाउन आजैदेखि सचेत बनौँ, नत्र भोलि पछुताउनु बाहेक अन्य विकल्प रहने छैनन् ।

 

Leave a Reply