विभाजनको डिलमा नेकपा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विभाजनको डिलमा नेकपा (भिडियोसहित)

काठमाडौं, २७ मंसिर । केहीदिन सुस्ताएको सत्तारुढ नेकपाको विवाद फेरि सुरु हुने भएको छ । यसअघि स्थायी समिति बैठकले विवाद समाधानका लागि एक साताको समय छुट्याएपनि त्यसको उपयोग खासै चासो दिइएको पाइएन । यसको विपरित सो समयलाई गुटगत भेला गर्ने सुनौलो अवसर बनाइयो । पार्टीका दोस्रो तहका नेताले समेत विवाद समाधानमा रचनात्मक भूमिका खेल्न चुकेपछि नेकपा विवाद सुरक्षित अवतरण हुने सम्भावना पातलिँदै गएको छ ।

सत्तारुढ दल नेकपा भित्र केही समयदेखि छचल्किरहेको विवाद क्रमशः बहुमत–अल्पमतको खेलतर्फ प्रवेश गरिरहेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले एकतर्फी रुपमा गम्भीर आरोपपत्र पार्टीमा दर्ता गराएपछि सतहमा छताछुल्ल भएको विवाद क्रमशः मुठभेडतर्फ धकेलिँदै गएको देखिन्छ । मंसिर २१ गते बसेको स्थायी समिति बैठकले पार्टीमा देखिएको समस्यामा समाधान खोज्न भन्दै बैठक एक साताका लागि स्थगित गरेको थियो ।

यसबीचमा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकपटक वार्ता भए बाहेक विवाद मिलाउन ठोस प्रयास भएको देखिएको छैन । नौ सदस्यीय नेकपा सचिवालयका वरिष्ठ भनिएका कतिपय नेताहरु नै बहुमत–अल्पमतको खेलमा लागेकाले नेकपा विवाद समाधान भन्दा विभाजनतर्फ उन्मुख हुँदै गएको छ । अघिल्लो बैठकमा आफू अनुपस्थित रहनुको कारण खुलाउँदै स्थायी समिति सदस्यका नाममा पत्र पठाएका प्रधानमन्त्री ओली आइतबार बोलाइएको बैठकमा उपस्थित हुनेनहुने बारे संशय नै छ ।

किनभने प्रधानमन्त्री ओलीले पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्परा विपरीत अध्यक्ष दाहालले आफूविरुद्ध लगाएको अभियोग फिर्ता नभए बैठकमा सहभागी हुन नसक्ने सन्देश दिइसक्नुभएको छ । अर्कोतर्फ आइतबार नै प्रधानमन्त्री ओलीले मुलुकको राज्य संचालनमा महत्वपूर्ण संवैधानिक परिषद्को बैठक बोलाइसकेको अवस्था छ । संवैधानिक निकायमा रिक्त पदहरु पूर्ति गर्नका लागि यो बैठक बोलाइएकाले यसलाई समेत प्रधानमन्त्री ओली इतरका नेताहरुले शंकाकै नजरले हेरिरहेका छन् ।

यसरी सचिवालयका नेताहरु सत्ता स्वार्थमा केन्द्रित भएर बहुमत–अल्पमतको खेलमा लिप्त भैसकेकाले नेकपाको भविष्य जोगाउने जिम्मेवारी अहिले दोस्रो पुस्ताको नेताहरुको काँधमा आइसकेको छ । तर दोस्रो पुस्ताको नेताहरुले समेत पार्टी विवादलाई किनारा लगाउन पहल गर्नुभन्दा आफ्नै गुटका नेताहरुको छाता ओढ्दै आफू अनुकूलका गुट भेला गरेर देश दौडाहामा समय खर्चिरहेका छन् ।

यसले नेकपाका नेताहरुको ध्यान पार्टीलाई एकताबद्ध बनाउने भन्दा पार्टी विभाजन भएका बखत बहुमत कार्यकर्ता आफ्नो पक्षमा पार्ने प्रयत्नमा लागेको देखिन्छ । नेताहरुको गुटगत प्रयत्नलाई विश्लेषण गर्ने हो भने अब नेकपा विभाजनको डिलमा पुगिसकेको र नेताहरु शक्तिको लेखाजोखामा गर्न थालिसकेको स्पष्ट हुँदै गएको छ । विभाजन हुनुअघि नेकपाका नेताहरुले पार्टीमा विद्यमान समस्यामा बहुमत–अल्पमतबाट निर्णय हुनुपर्ने भन्दै आफू चोखिन खोजेका भएपनि जुन दिन नेकपाले सहमतिय बाटो छोडेर बहुमत–अल्पमतमा प्रवेश गर्छ, त्यसैदिन यसको विभाजन कसैले रोक्न सक्ने अवस्था छैन ।

किनभने महाधिवेशन भन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचन बाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह र सत्तामोहका कारण पार्टीमा समस्या निम्तिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफूले त्यसको सामना गर्ने सन्देश दिइसक्नुभएको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);