नेपालले चीन जस्तो छिमेकीबाट किन लाभ लिन सकेन ? चिनियाँ विकासको छाँया नेपालमा किन परेन ? (भिडियोसहित)

उत्तरी छिमेकी देश चीनले विकासमा अभूतपूर्व फड्को मार्दा पनि त्यसको छायाँसम्म नेपालमा पर्न सकेको छैन । जबकी युरोपका देशहरुमा ठूला देशले ठूला विकास गरे वरपरका छिमेकी साना देशहरुको पनि संगसँगै जस्तो विकास भएको धेरै उदाहरण विश्वमा देख्न पाइन्छ । छिमेकी देश चीन विकासमा फड्को मार्दै महाशक्ति राष्ट्रको रुपमा अघि बढ्दा पनि सिमा जोडिएको नेपालमा त्यसको कुनै असर नपर्दा नेतृत्वप्रति अनेकौं प्रश्न उठेको छ । चीनको विकासलाई नेपालमा ल्याउने हो भने, नेपाली नेतृत्वले चीनसँग गरिने व्यवहारलाई पारदर्शी र समान गर्न आवश्यक देखिन्छ ।

विकसित महाशक्ति राष्ट्रहरुसँग सिमाना जोडिएका छिमेकी देशहरुको पनि उलेख्य विकास भएको देखिन्छ । नेपालको छिमेकी चीन विश्वकै शक्तिशाली र समृद्ध राष्ट्रको रुपमा उदयीमान छ । विश्वकै ठूलो जनसंख्या, विश्वलाई नै हल्लाउन सक्ने सामरिक क्षमता, विश्वलाई नै हल्लाउने अर्थतन्त्र इत्यादि कारणले विश्व जगतकै चुनौतीको रुपमा स्थापित हुँदै गएको चीनको विकास प्रभाव नेपालमा भने अहिलेसम्म पर्न सकेको छैन । हुन त नेपालले अपनाएको भनिएको पञ्चशीलमा आधारित परराष्ट्र सम्बन्धहरुको कारण उत्तर र दक्षिण दुबैतर्फ सन्तुलित परराष्ट्र नीति स्थापित हुनुपर्ने हो । तर त्यसो हुन सकेको देखिंदैन ।

नेपालमा जुन जुन समयमा जस्ता जस्ता शासकहरु र शासकीय पद्धती उदाए त्यही अनुसार आफ्नो अनुकुल छिमेकी राष्ट्रहरुलाई हेर्ने नजर बन्दै गयो, त्यो अहिले पनि कायमै छ । राजा महाराजाहरुको समयमा उत्तरतर्फको सम्बन्धलाई अघोषित रुपमा निषेध जस्तै गरियो । उत्तरका कम्युनिष्टहरुले देशको राजनीतिमा प्रभाव पार्ला भन्ने डर त्यतिबेलाका शासकहरुमा तिव्र रुपमा देखिन्थ्यो । त्यसपछि भारतको सहयोगमा अझ भनौं, हस्तक्षेपमा नेपालको राजनीतिक व्यवस्था परिवर्तन हुँदै जाँदा नेताहरु पनि भारतको अनुकुलका पात्रका रुपमा शासन सत्तामा स्थापित हुन पुगे । भारतसँग थोरै पनि मतभेद राख्ने नेतृत्व सरकारमा स्थापित हुनै सकेन । यस अवधिमा चिनियाँहरुसँगको सम्बन्ध विस्तार गर्नु भारत विरोधी गतिविधि जस्तै व्याख्या गर्न थालियो ।

अझ भनौं, भारत विरुद्धको विद्रोहको रुपमा सोच्न थालियो । फलस्वरुप चिनियाँहरुसँगको विकासे साझेदारीबाट हुने लाभको सम्बन्धमा नेपालमा बहस हुनै सकेन, हुने अवस्था नै रहेन । २०७२ सालमा एकाएक भारतले थोपरि दिएको नाकाबन्दीसँगै त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यतावश पहिलो पटक उत्तरतर्फको सम्पर्कलाई स्थापित गर्नेतर्फ पाइला अघि बढाए । तथापी त्यसै वर्षको भँइचालोले थाङथिलो बनाएको संरचनाले गर्दा आशातित सफलता प्राप्त हुन सकेन । राजा महाराजाहरुको समयमा खुलेको कोदारी राजमार्गलाई समेत भारतले राम्रो नजरले नहेरेकै कारण समायोचित स्तर उन्नती समेत हुन नसक्दै त्यो समेत रुग्ण अवस्थामा रहँदा हवाई सम्पर्क बाहेक चिनियाँहरुसँग नेपालको भौगोलिक निकटताको सम्बन्ध स्थापित हुनै सकेन ।

यही परिवेशको लाभ उठाउँदै भारतले सामाजिक, आर्र्थिक, धार्मिक र राजनीतिक हरेक क्षेत्रमा आफ्नो बाहुबलको प्रयोग ग¥यो । एक प्रकारले सबै क्षेत्रमा आफ्नो पकड जमाउन सफल भयो । तर विस्तारै दिन परिवर्तन हुँदै गएसँगै भारतीयहरुप्रति नेपालीहरुको उदासिनता व्यापक बन्दै गयो । यसै प्रसंगमा गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणसँगै जनस्तरमा नेपालीहरुको चिनियाँप्रतिको धारणामा व्यापक रुपमा परिवर्तन देखियो । त्यतिमात्र होइन चिनियाँ विकासे दृष्टिकोणसँग नेपालीहरुको आत्मीयता बढ्दै गयो । त्यही श्रृंखलामा भर्खरै भएको चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई समेत नेपालीहरुले अत्यन्त हार्दिकताका साथ सम्मान गर्न पुगे र थप प्रगतिको समेत वातावरण बन्दै गएको आंकलन गर्न पुगे ।

नेपालले विकासको निमित्त सोच्ने हो भने, एउटा महत्वपूर्ण सम्भावना आफ्नै छेउमा देख्नुपर्ने अवस्था छ । आफ्नो देशको विकास अरु देशले गरिदिने त होइन । तथापी आपूmले विकासे पाइला अगाडि बढाउन खोज्दा छिमेकीबाट साझेदारीको अपेक्षा गर्नु गलत पनि होइन । स्थायी प्रकारको सर्वसम्मत राष्ट्रिय नीति बनाउँदै जुन सरकार आएपनि छिमेकीहरुलई हेर्ने दृष्टिकोणमा परिवर्तन नगरी स्थिर परराष्ट्र नीतिको अभ्यास अपनाउँदै विश्वासको वातावरण बनाउने हो भने नेपालले विकास निर्माणको निमित्त साझेदार खोज्न दुनियाँभर दौडिनै पर्दैन । विश्वासको संकटकै कारण चिनियाँहरुको नेपालप्रति राम्रो र स्थिर सोच बन्न सकेको छैन ।

यो अवस्थामा चीनले पनि नेपाललाई रणनीतिक हिसाबले मात्र व्यवहार गर्दै आयो । दुई देशबीच भावनात्मक सम्बन्ध नहुँदा चीनले गरेको विकासले नेपाललाई छुन सकेन । अब नेपालले ढिला नगरिकन उत्तरतर्फको भौगोलिक दुरीलाई निकटतामा परिणत गर्न सक्नुपर्छ । व्यवसायिक विकासे साझेदारको रुपमा नेपाली जनता र चिनियाँ जनताको बीचमा व्यापक संवाद हुने वातावरण बनाउनु पर्छ । दक्षिणतर्फ मात्र उदार बनेको नेपालको वर्तमान सोच अब तटस्थतामा आधारित हुँदै दुबै राष्ट्रसंग समान प्रकारको सम्बन्धको निमित्त प्रयास गर्नुपर्छ ।

रोटीबेटी, धर्म संस्कृति र खुला सिमानाको नाममा हुर्किएको सम्बन्धलाई खारेज गर्नु पर्छ । दुबै देशसंग आफ्नो अनुकुल व्यवसायिक सम्बन्ध बनाउन सक्नुपर्छ । यसबाट मात्रै नेपालको विकास र सम्वृद्धिको चाहना पूरा हुन सक्छ ।

Leave a Reply