विदेशीको हस्तक्षेप आवश्यक छैन । नेपालको समस्याको समाधान नेपालमै छ (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विदेशीको हस्तक्षेप आवश्यक छैन । नेपालको समस्याको समाधान नेपालमै छ (भिडियाेसहित)

नेपालको आन्तरिक मामिलामा मौन रहने चिनियाँ परराष्ट नीति एकाएक कसरी परिवर्तन हुन गयो ? किन परिवर्तन हुन गयो ? र के को लागि परिवर्तन हुन गयो ? आफैंमा खोजीको विषय हुनुपर्ने भएको छ । पछिल्लो समय चिनियाँहरुको नेपाली राजनीतिमा खुलेआम संलग्नताले नेपाललाई आवश्यकता भन्दा बढी विवादास्पद उल्झनमा उल्झाइ रहेको परराष्टविदहरु बताउँछन ।

नेपालमा ठूलाठूला राजनीतिक घटनाहरु हुँदा समेत सामान्य औपचारिक वक्तव्य दिंदै आन्तरिक मामिला भन्दै पन्छिदै आएको चीन पछिल्लो समय बिना तुकको घरेलु मामिलामा समेत प्रत्यक्ष हाबी हुन खोज्नुले चिनियाँहरुको एउटा अलग प्रकारको पाटो छरपस्ट हुनुको साथै चिनियाँहरुप्रति नेपाली जनता समेत शंकास्पद हुन थालेका छन । निरन्तर जस्तो भारतीय कुटनीतिको चपेटामा परेको नेपाल फेरी अर्र्काे कुटनीतिक शिकार बन्ने त होइन भन्ने प्रश्न पनि त्यति नै मुखरित हुँदैछ ।

हरेक राजनीतिक घटनाक्रमसँग भारतलाई जोडेर हेर्ने गरिन्छ । भारतलाई आवश्यकता भन्दा बढी राजनीतिमा संलग्न गराउँदाको पीडा नेपालीहरुले प्रष्ट रुपमा भोगेका छन । नेपालका राजनीतिक दलहरुलाई भारतीयहरुले कसरी नचाए त्यो पनि कसैबाट छिपेको छैन । मधेसवादी दल त भारतको हरेक क्रम उपक्रमको पृष्ठपोषककैे रुपमा नेपाली जनताले बुझ्ने गर्छन ।

भारतले नेपालकै दलहरुलाई हतियार बनाएर नेपालप्रति असंवेदनशील चक्रव्यूहमा फसाउँदै आएको कुरा पनि कसैले भुलेका छैनन । तथापी, जनस्तरमा भारतले जतिसुकै कुचक्र गरेपनि नेपाली सत्ता मोहका लागि भारतीय जनता कहिल्यै नराम्रो बनेनन । नराम्रो भन्न सक्ने आँट पनि नेपाली सत्ताले गरेन । यसै प्रसंगमा पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीको भारतप्रतिको अनेकौं राजनीतिक विषमताको बाबजूद आफूलाई राजनीतिक केन्द्रबिन्दुबाट केही पर राख्ने अभ्यास गरेको देखिन्छ ।

भित्री रुपमा जे जस्तो भूमिका खेले पनि भारतीय कुटनीतिज्ञहरु पछिल्लो समय खुलेआम आउन सकेका छैनन । तर यसैबीचमा विकसित भएका राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै चिनियाँहरुको खुलेआम चहलपहल नेपाली जनताले पटक्कै रुचाएका छैनन । नेपाल सार्वभौम मुलुक भएको हुनाले भारत र चीन दुबै छिमेकीहरुको अनावश्यक हस्तक्षेप नेपाललाई स्वीकार्य हुनु हुँदैन ।

विकसित हुने राजनीतिक तिकडमलाई आधार मानेर विदेशी आगमनले नेपाली राजनीतिलाई अझ बढी प्रदूषित गर्दछ । नेकपालाई एउटा छिमेकी फुटेको हेर्न चाहन्छ, एउटा छिमेकी जुटाउन चाहन्छ । यही कुचक्रमा फसेको राजनीतिलाई सही निकास दिनु नेपाल भित्रका आफूलाई राजनीतिको मसिहा ठान्नेहरुको लागि चुनौती बनेको छ ।

देखिएको राजनीतिक समस्याको देश भित्रै आन्तरिक वातचित गरी निकास खोज्नुको विकल्प छैन । विदेशीसंगको रोइलोले देश बन्दैन, निकास पनि निस्कदैन । नेपालको समस्याको समाधान नेपालमै छ । सबै प्रकारको विदेशी हस्तक्षेपहरुको खुलेर प्रतिवाद गर्नु नै आजको आवश्यकता हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);