नेपाल चीन सम्बन्ध–आशा, निराशाका पक्षहरु

गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक नेपाल भ्रमण पश्चात सुध्रिएको भनिएको नेपाल चीन सम्बन्धको कारण भारतीयहरुबाट रहँदै आएको एकलौटी राजनीतिक तथा आर्थिक प्रभावबाट नेपाल मुक्त हुन सक्ने आशा धेरै नेपालीहरुले गरेका थिए । दुई पक्षीय ओहोर दोहोर निकै बाक्लिएको थियो । नेपालमा चिनियाँ राजदूतको सक्रियता पनि देख्न लायककै थियो । विगतमा भारतीयहरु जस्तै चिनियाँहरुको सक्रियता पनि तिव्र थियो । भारत आवश्यकता भन्दा बढी आशंकित पनि भयो ।

नेपाल भित्र भने दुबै छिमेकीसंगको सन्तुलित सम्बन्ध बन्न गएमा आर्थिक क्षेत्रले उल्लेख्य प्रगती गर्न सक्ने आंकलन गरिएको थियो । चीनसँग भएका विभिन्न सम्झौताहरुले आर्थिक पाटाहरु अझ सवल बन्न सक्ने आशा पनि गरिएको थियो । तर यी सबै आशाहरु त कुरै छोडिदिउँ दक्षिणी छिमेकी सरहको योगदान पनि उत्तरतर्फबाट नभेटिएसँगै उत्तरतर्फ थप आशावादी हुनु निरर्थक जस्तो देखिन गएको छ । चीनबाट शुरु भएको कोभिड १९ को संक्रमणसंगै विश्व नै महामारीबाट आक्रान्त हुन पुग्यो । संसार भरिकै आर्थिक क्षेत्रहरु संकुचन देखिए । संकुचनसंगै आपूर्ति प्रक्रियामा पनि विश्वव्यापीकरण हुन सकेन ।

यस्तो अवस्थामा आपूर्ति व्यवस्थाका लागि छिमेकीहरु नै प्रभावी हुनुपर्ने हो । त्यसमाथि पनि नेपाल जस्तो परनिर्भर देशको निमित्त मुख ताक्नुको विकल्प नरहेको अवस्थामा छिमेकीहरुले गर्ने सहयोग महत्वपूर्ण रहन्छ नै । तर बिडम्बना केभिड १९ संगै चिनियाँहरुले चीनतर्फको आपूर्ति व्यवस्था लगभग बन्द नै गरिदएका छन् । थप आपूर्ति व्यवस्था बन्द गरेको मात्र होइन, नेपालीहरुले अर्बाै रकम पठाइ खरिद गरिएका सामान समेत आपूर्ति हुन नसकेबाट नेपालीहरुको पैसा समेत ठूलो मात्रामा फस्न पुगेको छ । कुनै न कुनै बहानामा रसुवागढी नाका चिनियाँहरुले बन्द नै गरिदिएका छन् ।

नेपाली संचार माध्यमहरुमा चिनियाँहरुको समाचारले त्यति स्थान पाउँदैन जति भारतीय घटनाक्रमले स्थान पाउँछ । । त्यसैले झण्डै ८।९ महिनादेखि अवरुद्ध रसुवागढीको समाचारले समाचारको रुप लिन सकेन । त्यसो त नेपाल तथा चीन दुबै डब्लुटिओको (ध्त्इ) सदस्य राष्ट्र हुन । सदस्य राष्ट्र हुनुकै कारणले पनि संक्रमणको आवश्यक होसियारी अपनाउँदै आपूर्ति प्रक्रिया निरन्तर हुनुपर्ने हो । तर विश्व स्तरीय डब्लुटिओ जस्ता विश्व संगठनहरुको काइदा कानुन चिनियाँहरुलाई लाग्दैन । ति संगठनहरु भन्दा चीन आपूmलाई माथि सम्झन्छ । निरपेक्ष आफ्नो स्वार्थ भन्दा बाहेक अरु कुनै कुरा पनि हेर्ने चिनियाँ आँखा छंदैछैन ।

त्यसकारणले गर्दा पनि नेपालमा हुने सामान आपूर्ति नेपालको लागि आयातको झण्डै १५ प्रतिशत गणना हुने भएतापनि चिनियाँहरुको लागि यो उल्लेख गर्न लायक परिणाम होइन । चिनियाँ अर्थशास्त्रमा पैसा बाहेक मानवीयताको गणना हुने गर्दैन । त्यसैले पनि आपूर्ति व्यवस्था अवरुद्ध हुन गयो । नेपालमा संक्रमण तिव्र भइरहँदा चिनियाँहरुकै जस्तो रवैया भारतीयहरुले पनि अपनाइ दिएको भए नेपाल भित्र केही गर्न नसक्ने र फेसबुकको खेती गरेर बस्ने, हामी नेपालीहरु भाइतीघर मण्डलामा आकासको तारा गनेर बसिरहेका हुन्थ्यौं होला । कमसेकम भारतले त्यो रवैया अपनाएन ।

नेपालको राजनीति कहिले पनि तटस्थ रुपमा रहनै सकेन । कि अति भारत परस्त, कि चीन परस्त । राष्ट्रवादी तटस्थ नीति नेपालले अपनाउँदै अपनाएन । नेपाली भूगोलको महत्व नेपालले जान्दै जानेन, बुझ्दै बुझेन । नेपाल भित्र केही गर्न सकिन्छ भन्ने आशा नेपालीमा रहँदै रहेन । यही कारणले हामी र हाम्रो अर्थतन्त्र पराधिन रह्यो । चिनियाँहरुसँग सामान किन्न पाइएन, भारतीयहरुले विषाधियुक्त तरकारी पठायो भन्दाभन्दै नेपालीको यो पुस्ता सिद्धिने नै भयो ।

आफ्नो देशको अर्थतन्त्रतर्फ स्वाभिमानी नजर नहुनाले गर्दा नेपालको बजार संधैभरि दुई छिमेकीको वर्चश्वमा रहन बाध्य नै छ । चाडबाडको मुखमा समेत नेपालीहरुलाई नेपाल भित्र राख्न सक्ने हाम्रो हैसियत छैन । हजारौंको संख्यामा युवाहरु भारततर्फ पलायन हुन बाध्य छन् । यस्ता दुरावस्था र नदीको विपरीत बहाव जस्तो देखिने राष्ट्रिय परिस्थितिको बीच राजनीतिक नेतृत्व खिचातानीमा व्यस्त छ । यही परिस्थिति रहे अबको केही वर्ष भित्र नेपाल शतप्रतिशत अर्काको आशा गर्ने अवस्थामा पुग्ने दिन अब धेरै टाढा छैन ।

Leave a Reply