राष्ट्रपति सीको नेपाल भ्रमण : चीनको रेल र तेल नेपाल आउला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रपति सीको नेपाल भ्रमण : चीनको रेल र तेल नेपाल आउला ?

काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणले नेपालमा नयाँ आशा जगाएको छ । आशासँगै थप कौतुहलता पनि बढाएको छ । छिमेकी र त्यसमा पनि सहयोगी मित्र राष्ट्रका प्रमुखबाट हुने उच्च स्तरीय भ्रमणले आशा त त्यतिकै बढाउने भयो नै, भ्रमणका बेला कस्तो सम्झौता होला भन्ने आम नागरिकमा कौतुहलता पनि बढाइरहेको छ ।

भ्रमणका बेला हुने एजेण्डा र सम्झौताका विषय सरकारले सार्वजनिक नगरेका कारण नयाँ आशासँगै कौतुहलता बढाएको हो । सबैको मनमा चीनको रेल र तेल कहिले नेपाल आउँछ ? र यसबारे सम्झौता होला कि नहोला भन्ने जिज्ञासा उठि नै रहेको छ ।

चिनियाँ राष्ट्रपति सी शनिबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । असोज २५ गते नेपाल आई २६ गते उहाँ स्वदेश फर्कनु हुनेछ । यसरी हेर्दा उहाँको नेपाल बसाई लगभग २४ घण्टाको हुने देखिन्छ ।

भ्रमण अवधि छोटो नै भए पनि यो राजकीय भ्रमण हो । यो भ्रमणलाई नेपाल सरकारले उच्च महत्वका साथ हेरेको छ । र यसमा कुनै कमी कमजोरी नहोस भनेर सरकारले भ्याएसम्मको तयारी गरिरहेको छ ।

यस अघि नेपालका राष्ट्रपति र प्रधानमन्त्री पटक पटक चीनको भ्रमणमा जाँदा भएका सम्झौता कार्यान्वयनको चरणमा रहेको छ भने थप सम्झौता हुने सम्भावना पनि त्यति नै रहेको छ ।

सम्भावनकोबीच प्रधानमन्त्रीले देख्नु भएको सपना र आम नागरिकले गरेको आशा भनेको चीनको रेल र तेल नै हो । चीनको रेल सेवा नेपाल भित्रिने सम्भावनालाई अहिले सबैले हेरिरहेका छन् । चीनले गरेको आर्थिक विकासबाट नेपालले सिक्न सक्ने विश्वास नेकपाको नेतामा देखिन्छ ।

२०७२ सालको घटनालाई आम नेपालीले अझै भुल्न सकिरहेका छैनन । नेपाल भुकम्पलले थिलथिलो भएको बेला भारतले नेपालमा अघोषित नाकाबन्दी लगायो । मधेशवादी दलहरु आन्दोलित थिए ।

भारतको अघोषित नाकाबन्दीले नेपालीलाई केही अभावको महसुश गरायो । तथापी नेपाली आत्तिएनन् । नआत्तिनुको कारण प्रधानमन्त्रीको अठोट र ढाड्स थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नाकाबन्दी गरे चीनसँग सीमा नाका खोल्ने, चीनबाट अत्यावश्यकीय सामान आयात गर्ने आश्वासन दिनु भएको थियो ।

भुकम्पले थल्लिएका नेपाली भारतको नाकाबन्दीले सबै भन्दा बढी मार पेट्रोलियम पदार्थको अभावमा परे । प्रधानमन्त्रीले ढाड्स दिंदै त्यतिबेला भनेको अब नेपालले चीनबाट तेल र रेल ल्याउने भन्ने कुरा जनताले बिर्सेका छैनन । के यो विषयमा चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला सम्झौता होला त ?

आम जनता जान्न अहिले उत्सुक छन् । दुई देशबीच हितको कुरा गर्दा यो विषयमा पनि ध्यान दिनु पर्ने पराराष्ट्रविद् प्राध्यापक डाक्टर लोकराज बरालको भनाई छ ।

नेपालको पुरानो छिमेकी देश चीन । नेपालप्रति सकारात्मक सोच राख्ने र भौतिक पूर्वाधारदेखि हरेक क्षेत्रको विकासमा शुभचिन्तक देशको रुपमा चीनलाई लिइन्छ । हितैषी देश भएकै कारण हुनुपर्छ नेपालका अधिकांश नेता चीन भ्रमण गरिरहन्छन् । त्यहाँको विकासबाट नेपालले सिक्नुपर्छ पनि भनिरहन्छन् ।

तर जति मात्रामा नेताहरुले भ्रमण गर्छन त्यसको तुलनामा सिकेर नेपालमा विकास गरेर देखाएको महसुश भने आम नेपालीले गर्न पाइरहेका छैनन । त्यसकारण होला, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे दुई देशका उच्चस्तरीय भ्रमण हुँदा छलफल हुने विषयका बारेमा जनतालाई जानकारी दिनुपर्छ र भ्रमण अघि छलफलका विषयमा छलफल गरि सुझाव दिनु पर्छ ।

जे होस, चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले आम नेपालीलाई धेरै नै आशा जगाइ रहेको छ । विश्वकै शक्तिशाली राष्ट्रको रुपमा उदाइ रहेको चीनले अहिले विकासमा विश्वलाई नै उछिनिरेहेको छ ।

विश्व राष्ट्रका कुनै बजार छैन, जहाँ चिनियाँ सामान नपाइने । सडक, पुल, यातायातको विकास र दैनिक उपभोग्य वस्तुको उत्पादनमा चीनको विकास चामात्कारिक नै छ ।

यस्तो देशको राष्ट्र प्रमुखबाट २३ वर्ष पछि हुन लागेको नेपाल भ्रमणबाट नेपालीले केही विकास आयोजनाको आशा गर्नु स्वभाविक नै हो । के यो भ्रमणले चीनको रेल र तेल नेपाल भित्रिने बाटो खुल्ला ? आम नेपालीको मनमा अहिले खुल्दुली छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);